गुट चलाउने नेतृत्वले देशलाई निकास दिँदैन : आचार्य

जनकपुरधाम । नेपाली कांग्रेसका बौद्विक नेता तथा पूर्व अर्थमन्त्री महेश आर्चायले पार्टी सभापतिमा निर्वाचित भएपछि पनि गुट चलाउने नेतृत्वले देश निकास नपाउने दावी गरेका छन् । उनले कांग्रेस र एमालेको बहुमतको ७ बुँदेले प्रजातन्त्र बलियो नहुने र देशलाई निकास पनि दिन नसक्ने बताए ।
प्रजातान्त्रिक विचार समाज धनुषाले जनकपुरधाममा आयोजना गरेको मधेसमा प्रजातान्त्रिक मूल्य मान्यताको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले पार्टीभित्र विरोधका कुनै पनि स्वर सुन्न नचाहने शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्डजस्ता नेताहरूले देशलाई स्थिर बनाउन नसक्ने भन्दै बंगलादेश बन्ने डरसम्म रहेको औँल्याएका छन् ।

‘वास्तविक र सार्थक नेतृत्वले आलोचक र विरोधीलाई छेउमा राख्नुपर्दछ’, उनले भने, ‘तर, तीन शीर्षनेताहरूको जुल रबैया देखिन्छ, पार्टीहरूमा प्रजातन्त्रको अभ्यास र मर्म कतै पनि देखिँदैन ।’ पूर्वमन्त्रीसमेत रहेका उनले चुरे र पर्यावरण विनाशका कारण तराई मधेसमा भइरहेको क्षति र उत्पन्न हुने संकटले राजनीतिक दल र नेताहरूलाई पनि संकटमा पार्ने बताए ।

भारतमा जन्मेर मधेसका पलाएको हुर्केर जवान भएको कांग्रेस मधेसमा पुनःआगमन नगरेसम्म बाँच्न गा¥हो रहेको उनको तर्क छ । मधेसमा पानीको हाहाकार, बेरोजगारी, बाँझो खेत र कृषि विनास यी सबै कुरा समाधान नभएसम्म प्रजातन्त्रको अनुभूति हुन नसक्ने उनको जिकिर छ । यो देश हिन्दू, बौद्व र किरात धर्माबलम्बीहरूको उद्गम विरासतसहितको देश हो भन्ने हेक्का नेताहरूले राख्नुपर्ने उनको चेतावनी छ ।

कार्यक्रममा बोलेका कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादवले मधेसमा शिक्षा, स्वास्थ्य, कृषि र सिचाइँको विकासबिना प्रजातन्त्रको कुरा गर्नु अशोभनीय रहेको बताए । प्रजातन्त्र सेनानी ललन चौधरी, महिला संघकी केन्द्रीय सदस्य निलु कर्ण, धनुषा सभापति योगेन्द्र पजियार सहितले कांग्रेसमा प्रजातन्त्रभन्दा पैसा, पावर र शक्तिको दबदबा रहेकाले प्रजातन्त्र संकटमा परेको बताए ।

सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, पूर्वअध्यक्ष तथा संरक्षक डा.केदार नरसिंह केसी, विश्लेषक चन्द्रदेव भट्ट, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य रिंकु मिश्र गायत्री र समाजका धनुषाका अध्यक्ष नविन झाले आ–आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया