अस्थायी, राहत तथा बालविकास शिक्षक फेरि आन्दोलित

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका अस्थायी, राहत तथा बालविकास शिक्षकहरू फेरि आन्दोलित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरे पनि उपमहानगरले सुनुवाइ नगरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिका तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू धर्नामा बसेका छन् । बालविकासका शिक्षकले मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनुपर्ने आन्दोलनरत शिक्षकको माग छ । उपमहानगरपालिकाले वर्षैपिच्छे नयाँनयाँ सम्झौता गरे पनि त्यसलाई कार्यान्वयन गर्नुको साटो शिक्षकहरूलाई अनावश्यक दुःख दिने काम गरेको आरोप लगाइएको छ ।

उनीहरूले लेखापालको मासिक तलब १८ हजार ५०० र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने मागसमेत गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाभित्रका ५१ वटा सामुदायिक विद्यालयमा १४९ जना बालविकासका शिक्षक कार्यरत छन् । यता, उपमहानगरपालिकाले भने नियुक्ति प्रक्रियामा रित नपुगेका शिक्षकहरूसँग आवश्यक कागजात माग गर्दा उनीहरू आन्दोलनमा लागेको जनाएको छ ।

प्रतिक्रिया