चन्देको चिया पसलमा झुल्किएका मुख्यमन्त्री

जनकपुरधाम । जनकपुरको जानकी चोकमा रहेको चन्दे चिया पसल मर्निङ वाक गर्न सहरको मध्यभाग भएर आवतजावत गर्नेदेखि जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकको एकछिन उठबस गर्ने ठाउँ होे । चिया, लस्सीजस्ता पेय पदार्थका पारखी दिनभरि बाक्लो भिड लाग्ने यो ठाउँमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंह झुल्किए ।

नजिक रहेको अंगराजसर (अरगजा पोखरी) र तेलहा पोखरी अवलोकनपछि मुख्यमन्त्री सिंह फर्कनुअघि अचानक चन्दे चिया पसलमा पुगे । उनीसँगै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साह र गोरखापत्रका प्रदेश संयोजक धीरेन्द्र साह एउटै बेन्चमा लहरै बसे । अघिल्तिर नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक गोविन्द साह, नेपाली कांग्रेसका नेता गणेश ठाकुरलगायत बसे । यतिको जमघटपछि चियाको चुस्कीसँगै सुरु भयो जानकी मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने विषयमा छलफल ।

त्यतिबेला अलिक परतिरबाट मुख्यमन्त्रीतिर सोझिँदै एक सामाजिक कार्यकर्ताले मेला भर्न जानकी मन्दिरमा आउने श्रद्धालुभक्तजनलाई ६–७ वटा संस्थालाई पनि पानी खुवाउन हम्मे पर्ने गरेको सुनाए । खानेपानीको स्रोत र लस्करै टुटी नलगाइँदा हजारौँ भक्तजनलाई जारबाट पानी खुवाउन नसकिने उनको गुनासोलाई मुख्यमन्त्री सिंहले गम्भीरतापूर्वक सुने ।

साउन महिनामा उपवास राख्ने भएकाले मुख्यमन्त्री सिंहले चिया पिएनन् । तर, सँगै रहेकाहरूले मिठो मानेर चिया पिइरहँदा उनी धैर्यतापूर्वक सँगै बसे । मुख्यमन्त्री सिंहको यो अवलोकन गर्ने कार्यक्रम पूर्वनिर्धारित नभएर आकस्मिक हुँदा वरपर रहेकाहरू मात्र नजिक आएका थिए । तिनमा थिए कांग्रेसका स्थानीय नेता ठाकुर ।

अरगजा पोखरी र तेलहा रहेको वडा–१० का अध्यक्ष पदमा गत स्थानीय निर्वाचनमा कांग्रेसका प्रत्याशी रहेका ठाकुरले जिब्रो टोक्दै भने, ‘यत्तिको सरल र सहज मुख्यमन्त्री मधेस प्रदेशले पहिलोपटक पाएको छ ।’ यसभन्दा अघि तामझामका साथ ‘सवारी’ गर्ने मुख्यमन्त्री र मन्त्रीहरूको शैली मात्र देखेका ठाकुरले मुख्यमन्त्री हिँडेरै सोझै चियापसल अगाडिको बेन्चमा बसेको देखेर छक्क परेका थिए ।

चियापसले चन्देका लागि पनि मुख्यमन्त्री पसलमा आएर विकासका बारेमा गफगाफ गरेको पहिलो अनुभव थियो । अरू दिन बिहान र बेलुका नेताहरूले दिने लम्बेतान राजनीतिक गफ सुन्न अभ्यस्त भइसकेका उनले एकछिन मुख्यमन्त्रीको अनुहार टोलाए अनि चिया पकाउन व्यस्त भए ।

चिया पसलबाट गाडीतिर फर्किरहँदा मुख्यमन्त्री सिंहले चन्देलाई नमस्कार गरे । चिया पकाउन व्यस्त चन्देले मुन्टो उठाउँदा मुख्यमन्त्रीको नमस्कार मुद्रा हेरे र खुसीका साथ नमस्कार फर्काए । मुख्यमन्त्री आएर समान्य बेन्चमा बस्नु, समान्य नागरिकसरह गफिनु र आफैँले नमस्कार गर्दै बिदा हुनु उनका लागि अलि नौलो र खुसीको अनुभव थियो ।

प्रतिक्रिया