धनुषा । जिल्लाको जनकपुरधामस्थित जनकपुर एफएमममा कार्यरत पत्रकार निभाकुमारी झालाई स्वास्थ्य बिमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ । आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले उनलाई २३ हजार ५४५ रुपैयाँको चेक हस्तान्तरण गगरिएको हो । २९ वर्षीया उनी जनकपुर एफएम १०१.८ मेगाहर्जमा समाचार वाचिकाको रूपमा कार्यरत छिन् ।
केपी खबर डट्कमको म्यानेजिङ डायरेक्टरको रूपमा समेत कार्यरत रहेकी उनी विगत ९ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय छिन् । गत चैत्रमा सिकिस्त बिरामी भई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोकर्मी झाको थप उपचार गरिएको थियो ।
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्बाट पत्रकारको स्वास्थ्य र दुर्घटना बिमासम्बन्धी कार्यविधि २०७९ पारित गरेको थियो । सोहीअनुसार आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा जिटुजी पोलिसीअन्तर्गत सरकारी बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग मधेस प्रदेशका ११० जना पत्रकार महिलाको बिमा गरेको थियो ।
सुरुका २ वर्षसम्म प्राधिकरणले प्रदेशका पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाखको स्वास्थ्य बिमा र ७ लाखको दुर्घटना बिमा गर्दै आएकोमा गत आवमा बजेट कटौती गरिएपछि कार्यक्रम प्रभावित भएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार चालु आव २०८१/०८२ को बजेटमा भने मधेस प्रदेशका सम्पूर्ण पत्रकारको बिमा गर्ने गरी ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकायको रूपमा रहेको प्राधिकरणले गरेको बिमा कार्यक्रमबाट नेपाल पत्रकार महासंघकी सदस्यसमेत रहेकी रेडियो पत्रकार रञ्जना खतिवडालाई २६ हजार ६७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
प्राधिकरणका कम्प्युटर अधिकृत प्रसन्नराज कर्णका अनुसार बिमाको सुविधा रकम उपलब्ध गराउनका लागि थप २ जना पत्रकार महिलाको नाम राष्ट्रिय बिमा कम्पनी लिमिटेड जनकपुरधाम कार्यालयलाई सिफारिस गरिएको छ । उक्त रकमको चेक आए लगत्तै हस्तान्तरण गरिने अधिकृत कर्णले जानकारी दिए ।
प्रतिक्रिया