अमेरिकाले भन्याे– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको आरोप झुटो

वासिङ्टन । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले सोमबार जनाएको छ ।

हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेको हो ।

बंगलादेशको राजनैतिक परिवर्तन बंगलादेशी जनताको छनोट रहेको बताउँदै उनले बंगलादेशी जनताले नै आफ्नो सरकारको निर्माण र विघटन गर्न पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको बताए ।

हसिनाका छोरा तथा पूर्वसरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बंगलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्यपि उनले कुनै प्रमाण भने पेश गरेका थिएनन् ।

मे महिनामा हसिनाले विदेशी शक्तिलाई बंगलादेश सरकारलाई सैन्य विमानस्थल (एयरबेस) निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए ।

संयुक्त राज्य अमेरिकाको सामान्यतया बंगलादेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्यपि हालको अवस्थामा बंगलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको श्रङ्खला चलिरेको देखिन्छ ।

बंगलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा रहेका छन् ।– रासस, एएफपी

प्रतिक्रिया