धनुषा । सञ्चारकर्मी सुजीत कुमार झाद्वारा लिखित मैथिली पुस्तक खुसीको आवरण सार्वजनिकीकरण एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
‘खुसी वीरेन्द्रक यात्रा कथा’ पुस्तकको आवरण सार्वजनिक गर्दैै कार्यक्रम सम्पन्न भएको छ । सो पुस्तकको आवरण कार्यक्रमका प्रमुख अतिथि राम मन्दिरका महन्थ राम गिरीले सार्वजनिक गरेका हुन् । सञ्चारकर्मी झाद्वारा लिखित यो पुस्तकको प्रकाशन मोडेल मल्टिपल कलेज जनकपुरधामले गरेको छ ।
पुस्तकको आवरण सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि राम मन्दिरका महन्थ राम गिरिले समाजका हरेक तह तप्काका व्यक्ति सदैव खुसी रहुन् कामना गरे । पुस्तकमा मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्र साहलाई केन्द्र बनाएर उनको संघर्षका साथै सफलताको कथालाई समेटिएको छ । आफूलाई केन्द्र बनाएर पुस्तक लेखिएकोमा कलेजका संस्थापक साहले खुसी व्यक्त गरे ।
उनले आफू जनकपुरधाममा शिक्षाको क्रान्ति ल्याउने अभियानमा लागेको र सो अभियानमा सञ्चारकर्मी झाद्वारा लिखित यो पुस्तक सहायक सावित हुने विश्वास व्यक्त गरे । साथै यो पुस्तकले आफ्नो यो अभियानमा थप ऊर्जा प्रदान गरेको बताए । मोडेल खबरका सल्लाहकार एवं प्राध्यापक डा.सुरेन्द्र लाभले पुस्तकको लेखक झालाई कलमवीर तथा पुस्तकको केन्द्रबिन्दु साहलाई कर्मवीरको संज्ञा दिए । उनले दुवै व्यक्तित्व आ–आफ्नो क्षेत्रमा अविराम भएर लागेकोमा प्रशंसा व्यक्त गरे ।
पुस्तकका लेखक झा निरन्तर आफ्नो पुस्तक प्रकाशनतर्फ केन्द्रित रहेको र पुस्तकका केन्द्रबिन्दु साह शिक्षा अभियानमा निरन्तर लागेको र निरन्तर संघर्षरत रहेकाले एकलाई कलमवीर तथा अर्कालाई कर्मवीरको संज्ञा दिएको बताए । बरिष्ठ साहित्यकार रोशन जनकपुरीले खुसी प्राप्त गर्ने सबैभन्दा ठूलो माध्यम नै संघर्ष रहेको बताए । पुस्तकमा वीरेन्द्र साहको संघर्षको यात्राका साथै उनको खुसीका कारणका विषयमा लेखिएको होला, उनले भने ‘उनले गरेको अथक संघर्षकै कारण अहिले आएर एउटा सफल शिक्षा व्यवसायी बन्न सफल भएका छन्, उनले संघर्षको माध्यमले खुसी प्राप्त गरेका हुन् ।’
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले कार्यक्रममा मोडेल कलेजका संस्थापक साहको संघर्षका दिनहरूलाई स्मरण गरे । उनी सामान्य संघर्ष गर्ने युवाबाट आज सफल शिक्षा व्यवसायीको रूपमा आफूलाई स्थापित गर्न सफल भएकोमा खुसी व्यक्त गरे । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले पुस्तकका मुख्यपात्र साहको संघर्ष यात्राको साक्षी पात्र आफू पनि रहेको बताए । शिक्षाले लाखौँ व्यक्तिमा खुसी ल्याउने काम गरेकाले उनको यो अभियानमा सबै पक्षको सहयोग र साथ हुनु आवश्यक रहेको बताए ।
पुस्तकका लेखक झाले खुसी पुस्तकमा मोडेल कलेजका संस्थापक वीरेन्द्र साहको संघर्ष, जीवन तथा अनुभवलाई पृष्ठभूमि बनाएर तयार पारिएको बताए । पुस्तक एक सातापछि अनावरण गरिने उनले जानकारी दिए । कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, रामयुवा कमिटीका पूर्वअध्यक्ष प्रमोद चौधरी, अभियानी सुरेश शर्मा, साहित्यकार मनोज प्रमेश लगायतका व्यक्तित्वहरूले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया