पेरिस । पेरिस ओलम्पिकको मंगलबारको पहिलो स्वर्ण पदक सर्बियाले जितेको छ । सर्बियाले सुटिङको १० मिटर एयर पिस्तोलमा मिस्रित टिम इभेन्टमा स्वर्ण पदक जितेको हो । सो स्पर्धामा टर्कीले रजत तथा भारतले कास्य पदक जिते । सोमबारको खेल सकिँदा भने जापानले अग्रता लिएको छ । जापानले ६ स्वर्ण पदकसहित तालिकाका शीर्ष स्थान कायम गरेको हो ।
पदक तालिकामा चीनले अग्रता लिएको छ । मंगलबार भएको टेबल टेनिसको मिश्रित युगलमा चीनले उत्तर कोरियालाई हराउँदै स्वर्ण पदक जितेको हो । सो स्पर्धामा दक्षिण कोरियाले रजत पदक जित्यो । प्रतियोगितामा त्यो चीनको छैटाँै स्वर्ण पदक हो । चीनले जापानलाई रजत पदकको आधारमा पछि छाडेको हो ।
यस ओलम्पिकमा फ्रान्सले सानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । सोमबारको खेल सकिँदा फ्रान्स ५ स्वर्ण पदकसहित दोस्रो स्थानमा छ । चीन, अस्ट्रेलिया र दक्षिण कोरियाको समान ५ स्वर्ण पदक छ ।
सोमबार भएको केही खेलमा जापानले स्वाभाविक सफलता पाएको थियो भने केही खेलमा अप्रत्यासित नतिजासहित आफूलाई अघि ल्याउन सफल भएको थियो । स्केट बोर्डिङको पुरुष स्ट्रिट फाइनलमा अनुमान गरेअनुसार नै अमेरिकाका जागेर इटन र न्युजाह हटसन अन्तिम समयसम्म अग्रता कायम गर्न सफल भएका थिए ।
जापानका भुटो होरग्मिेले अन्तिममा अस्वभाविक प्रदर्शन गरेर पहिलो स्थान पाए । जापानले सोमबार पुरुष जिम्न्यास्टिकको टिम स्पर्धाको स्वर्ण पदक जितेको हो । सो स्पर्धामा चीन दोस्रो तथा अमेरिका तेस्रो भए ।
सोमबार भएका इक्वेस्ट्रियनको इभेन्टिङ टिम जम्पिङमा बेलायतले स्वर्ण, फ्रान्सले रजत तथा जापानले कास्य पदक जिते । बेलायतले अर्को स्वर्ण पदक साइक्लिङमा जितेको हो । इक्वेस्ट्रियनकै इभेन्टिङ जम्पिङमा जर्मनीका माइकल जङ पहिलो, अस्ट्रेलियाका क्रिस्टोफर बर्टन दोस्रो तथा बेलायतका लाउरा कोलेट तेस्रो भए । जङले लगातार ३ पटक ओलम्पिकमा स्वर्ण पदक जितेका हुन् ।
साइक्लिङको पुरुष क्रस कन्ट्रीमा जर्मनीका थोमस किडककले स्वर्ण पदक जिते । यसैगरी, फ्रान्सका भिक्टर कोरेट्जीले रजत तथा दक्षिण अफ्रिकाका एलन हाथर्लीले कास्य पदक जिते । आर्चरीको पुरुष टिम इभेन्टमा दक्षिण कोरियाले स्वर्ण, फ्रान्सले रजत तथा ट्युनेसियाले कास्य पदक जिते । पुरुष क्यानोइ एकलमा फ्रान्सका निकोलास गेस्टिन पहिलो बेलायतका एडम बर्गस दोस्रो तथा स्लोभाकियाका माटे जेनस तेस्रो भए । पौडीको महिला ४०० मिटर मेड्लीमा क्यानडाकी समर म्याकन्टसले स्वर्ण, अमेरिकाको केटी ग्रिम्सले रजत तथा अमेरिकाकै अम्मा वेयन्टले कास्य पदक जिते ।
पुरुष २०० मिटर फ्रिस्टाइलमा रोमानियाका डेभिड पोपोस्कीले स्वर्ण, बेलायतका म्याट रिचर्ड्सले रजत तथा अमेरिकाका लुक हबसनले कास्य पदक जिते । पौडीको महिला १०० मिटर ब्याकस्ट्रोकमा इटालीका थमस केकनले स्वर्ण, चीनका लुई जिआओले रजत तथा अमेरिकाका रेयान मर्फीले कास्य पदक जिते । पौडीको १०० मिटर ब्रेस्टस्टोकमा दक्षिण अफ्रिकाकी टाटजना स्मिथले स्वर्ण, चीनकी टाङ क्विन्टाङले रजत तथा आयरल्यान्डकी मोना क्यारीले कास्य पदक जिते ।
पौडीको २०० मिटर फ्रिस्टाइल महिलामा म्याली ओ कागलनले स्वर्ण, सोही टोलीकी एरियन टिटमसले रजत तथा हङकङकी सिमोना हाउजीले कास्य पदक जिते । फेन्सिङको पुरुष फोइलमा हङकङका चेउङ लङले स्वर्ण तथा इटालीका फिलिपो माचीले रजत पदक जिते । सो स्पर्धाको कास्य पदक अमेरिकाका निक एटकिनले जिते ।
फेन्सिङकै महिला साब्रेमा फ्रान्सकी मेनन इपिथीले स्वर्ण तथा सारा बलजरले रजत पदक जिते । सो स्पर्धामा युक्रेनकी ओल्गा खारुनले कास्य पदक जितिन् ।
अलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान
नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१ दशमलव ९१ सेकेन्डमा दुरी पूरा गरे । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् ।
उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२ दशमलव १७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
सो स्पर्धाको विश्व कीर्तिमान ४६ दशमलव ८२ सेकेन्डको छ । यस ओलम्पिकमा पनि स्वर्ण पदक जित्ने खेलाडीले ४७ सेकेन्डभन्दा कम समयमा दुरी पूरा गर्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न नै लायक नठरिएको नेपालले ओलम्पिकमा वाइल्ड कार्डमार्फत सहभागिता जनाउँदै आएको छ ।
प्रिन्सको दोस्रो हार
ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहालले लगातार दोस्रो हार बेहोरेका छन् ।
समूह ‘पी’ अन्तर्गत सोमबार राति भएको ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स आयरल्यान्डका हात गुएनसँग ७–२१ र ५–२१ को सोझो सेटमा पराजित भएका हुन् ।
प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।
अब समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
गर्मीको मारमा फ्रान्स
जलवायु परिवर्तनको असर पेरिस ओलम्पिक २०२४ मा पनि देखिएको छ । गर्मीको असर धेरे देखिन थालेपछि खेलाडीहरू आइसभेस्ट पहिरन थालेका छन् । यसैगरी, प्रायः दर्शकहरू हाते पंखाले आफूलाई हम्कँदै हिँडिरहेका छन् । पेरिसमा ३५ डिग्री सेल्सियसको आसपासमा गर्मी छ ।
फ्रान्सको तटीय शर मार्सेलेमा सेलिङका स्पर्धा भइरहेका छन् । त्यस क्षेत्रमा देखिने खेलाडीहरू आइसभेस्टमा रहेका पाइएका छन् । न्युजिल्यान्डका थोमस म्याकन्टोसले पानी बाहिर निस्कँदा ४० डिग्री सेल्सियस झै भएको बताएका छन् ।
बोर्डेक्समा स्पेन र इजिप्टको विरुद्धमा फुटबल खेल भएको स्थानमा पनि त्यस्तै गर्मी भएको थियो । सहरका विभिन्न स्थानमा आयोजकले चिसो हुने गरी मानिस बसोबास गर्ने स्थान पनि बनाएको छ ।
एक शताब्दीअघि पनि पेरिसमा ओलम्पिक खेलकुदको आयोजना भएको थियो । सो समयमा भन्दा अहिले तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस बढेको अनुमान छ । मंगलबार सुरु हुने भनिएको ट्रायथलनको स्पर्धा सेन नदीको पानीको गुणस्तर खराब भन्दै स्थगित भएको थियो ।
अल्भारेजले ओलम्पिकपछि निर्णय गर्ने
म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजले पेरिस ओलम्पिकपछि क्लबमा आफ्नो भविष्यबारे निर्णय गर्ने बताएका छन् । २४ वर्षीय अल्भारेज हाल अर्जेन्टिनी टिमसँग ओलम्पिक खेल्न फ्रान्समा छन् । अर्जेन्टिनाले समूहको तेस्रो खेलमा मंगलबार लियोनमा युक्रेनसँग खेल्दैछ ।
मार्च २०२३ मा अल्भारेजले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग १ वर्षको सम्झौता नवीकरण गरेका थिए । त्यसको अर्थ उनी २०२८ सम्म सिटीमा बस्नुपर्नेछ । ‘धेरै कुरा भएका छन् । म ओलम्पिकमा केन्द्रित छु किनकि यो छोटो प्रतियोगिता हो । सिटीमा म धेरै राम्रो महसुस गर्छु । मैले त्यहाँ धेरै समय खेलेको छु’, सिटीसँगको भविष्यबारे सोध्दा उनले भने, ‘तर यस खेलपछि हेरौँ । सुरुमा यदि मैले समय पाए केही दिन छुट्टी लिनेछु । त्यसपछि हामी निर्णय लिनेछौँ ।’
सिटीले एफए कप फाइनलमा म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदा अल्भारेज सब्सिच्युटमा थिए । त्यसपछि एट्लेटिको मड्रिडसँग उनको नाम जोडिँदै आएको छ । उनले ठूला खेलहरूमा आउट हुँदा रिस उठ्ने बताउँदै खेलाडीहरू सधैँ पिचमा सहयोग गर्न चाहने बताए । ‘तर मेरो सिजन राम्रो भएको थियो । त्यसैले म धेरै खुसी छु ।’ प्रि–सिजन टुरमा हाल सिटीसँग अमेरिकामा रहेका प्रशिक्षक पेप ग्वार्डिओलाले अल्भारेजले आफ्नो भविष्यको बारेमा सोचिरहेको कुरा आफूलाई थाहा भएको बताए ।
‘म प्रतिस्थापनको बारेमा सोच्दिनँ’, ग्वार्डिओलाले थपे, ‘मलाई थाहा छ उनी महत्त्वपूर्ण क्षणहरूमा खेल्न चाहन्छ, तर अन्य खेलाडीहरू पनि त्यही चाहन्छन् । हामीसँग १८ वा १९ खेलाडी छन् जो महत्वपूर्ण खेलमा खेल्न चाहन्छन् ।’
‘मैले पढेँ कि उनले यसको बारेमा सोच्नुपर्छ, त्यसैले ठीक छ, यसको बारेमा सोच्नुहोस् र त्यसपछि उनले के गर्न चाहन्छन् भनेर हामीलाई सूचित गरोस् ।’ अल्भारेजले कम्युनिटी सिल्डमा ६ अगस्ट २०२३ मा आर्सनलविरुद्ध खेलेका थिए । पेरिस ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण पदकको खेल ९ अगस्टमा हुनेछ ।
प्रतिक्रिया