मडुरो चौथो कार्यकालका लागि निर्वाचित

कराकास । भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मडुरो चौथो कार्यकालका लागि विजयी घोषित भएका छन् । मडुरोले ५१ दशमलव २ प्रतिशत मतसहित विजयी हुँदा विपक्षी उम्मेद्वार एडमुन्डो गोन्जालेज उरुटियाले ४४ दशमलव २ प्रतिशत मत प्राप्त गरेको निर्वाचन परिषद्ले जनाएको छ ।

विपक्षी र क्षेत्रीय छिमेकी केही मुलुकहरूले तत्काल आधिकारिक भनिएको उक्त नतिजालाई अमान्य बताएका छन् ।

निर्वाचन परिषद्बाट मत परिणामको घोषणापछि राष्ट्रपति मडुरोले राष्ट्रपति भवनमा समर्थकहरूलाई सम्बोधन गरेका छन् ।

उनले भने, ‘भेनेजुएला र विश्वका जनतासामु बोलिभारियाली गणतन्त्र भेनेजुएलाको पुनः निर्वाचित राष्ट्रपतिमा निर्वाचित भएको छु । मेरो आगामी जिम्मेवारी देशमा शान्ति, स्थायित्व र न्यायका लागि हुनेछ । सबैले शान्ति र सुव्यवस्थाको सम्मान गरौँ ।’

भेनेजुएलाको विपक्षी गठबन्धनले निर्वाचन परिषद् तथ्यांक (परिणाम) लाई अस्वीकार गर्दै आफूले ७० प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ ।

‘हामी भेनेजुएला र विश्व समुदायलाई भेनेजुएलाको नयाँ राष्ट्रपतिमा डमुन्डो गोन्जालेज उरुटिया निर्वाचित भएको जानकारी गराउन चाहन्छौँ’, विपक्षी नेता मारिया कोरिना माचाडोले पत्रकार सम्मेलन गरी बताए । उनले चुनावमा आफ्नो दलले बृहत् समर्थनसहित निर्वाचित बनेको दाबी गरिन् ।

कोस्टारिकाका राष्ट्रपति रोड्रिगो चाभेजले नतिजालाई ‘कपटपूर्ण’ भन्दै निर्वाचनको आधिकारिकतामाथि प्रश्न उठाएकी छन् भने चिलीका राष्ट्रपतिले परिणामलाई ‘विश्वास गर्न’ कठिन भनी प्रतिक्रिया दिएका छन् ।

पेरुले मत परिणामबारे परामर्शका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको बताएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको निर्वाचन परिणामले भेनेजुएलाका मतदाताको इच्छालाई प्रतिबिम्बित नगरेको भन्दै मतपरिणामप्रति अविश्वास प्रकट गरेका छन् ।

प्रतिक्रिया