गोलबजार । जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच करोड राजस्व कम संकलन गरेको हो ।
कार्यालयले गत आवमा नौ करोड नौ लाख ९३ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा चार करोड १९ लाख २२ हजार राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी विनय चौधरीले जानकारी दिए ।
कार्यालयले राजस्व चुहावट नियन्त्रण, चोरीपैठारी रोक्न नियमित भन्सार गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीबाट चार सय ५० मुद्दा दर्ता भई चार सय २० मुद्दाको टुंगो लागाएको सूचना अधिकारी चौधरीले बताए ।
कार्यालय प्रमुख मुकेशकुमार पाठकले राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताउँदै पर्याप्त जनशक्ति नहुँदा अवैध चोरी पैठारी नियन्त्रण गर्न कठिनाइ भइरहेको जानकारी दिए । उनले भारतबाट भित्रिने सवारीसाधन, टायल्स तथा मार्बलबाट बढी राजस्व संकलन हुने गरेको बताए । उनले पछिल्लो समय निर्यातको अवस्था पनि कमजोर रहेको उल्लेख गरे ।
२०७५ साल अघि छोटी भन्सारका रुपमा रहेको उक्त कार्यालय २०७७ सालदेखि ठाडी भन्सारका रुपमा रुपान्तरण भएको थियो । यहाँ खाद्य, पशुलगायतको क्वारेन्टिन छैन ।
‘खाद्य वस्तु, पशुचौपायाको भन्सार कट्दैन । सोही कारणले राजस्व संकलनमा असर परेका हो,’ कार्यालय प्रमुख पाठकले भने । उनका अनुसार प्रमुखसहित १९ जनाको स्वीकृत दरबन्दी रहेकामा हाल कार्यालयमा स्थायी नौ र करारमा दुईजना कर्मचारी कार्यरत छन् ।
ठाडी भन्सार कार्यालयले गत आवमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि चालु आवमा चार करोड २३ लाख ४२ हजारको लक्ष्य पाएको प्रमुख पाठकले जानकारी दिए ।
प्रतिक्रिया