सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० जना घाइते

बेलग्रेड । दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएको सर्बियाको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ ।

आरटीएसका अनुसार तीन जना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको रिसेप्सन सेन्टरमा राखिएको छ ।

ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको आरटीएसले जनाएको छ । गत शुक्रबार पनि बेला पलाका शहर नजिकैको राजमार्गमा करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।

सर्बिया युरोपेली संघ (ईयू) तर्फ जाने आप्रवासीहरूले प्रयोग गर्ने बाल्कन मार्गमा रहेको छ । सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको ईयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ ।– रासस, एएफपी

प्रतिक्रिया