रोल्पा । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ११ की १४ वर्षीया बालिका दिक्षा परियार पेट अत्याधिक दुखेपछि शुक्रबार बिहानै राडी बजारस्थित नगर अस्पतालमा उपचार गराउन आइन् । अस्पालमा पुगेको केही बेरमा उनको मृत्यु भयो ।
उपचारका क्रममा दिक्षाको मृत्यु भएपछि अस्पतालमा केही समय तनाव सृजना भएको थियो । मृतक दिक्षा परियारका आफन्तले अस्पतालको लापरवाही ले ज्यान गएको भन्दै आक्रोस पोखेपछि अस्पताल तनावग्रस्त बनेको हो ।
सामान्य पेट दुखेको बिरामीको ज्यान जानुमा उपचारमा खटिएका स्वास्थ्यकर्मीको लापरवाही भएको उनीहरुले आरोप लगाएका छन् । प्रहरी, जनप्रतिनिधी र अस्पतालको संयुक्त सहमति भएपछि आफन्तले दिक्षाको शव बुझेका छन् ।
तर, उपचारमा खटिएका स्वास्थ्यकर्मी अहेव किरण केसीलाई काममा नखटाउने र अस्पतालको निगरानीमा राख्ने निर्णय भएको अस्पतालले बताएको छ । मृतक बालिकालाई अस्पतालमा ड्युटीमा रहेका केसीले एउटा सुई लगाएको र त्यसपछि निरन्तर बान्ता हुने, टाउको दुख्ने समस्या बढेपछि उनको मृत्यु भएको आफन्तले बताएका छन् ।
मृतकका आफन्त काका नाता पर्ने जनक परियार भन्छन्, ‘पेट दुखेको सामान्य बिरामीको उपचारमा स्वास्थ्यकर्मीबाट लापरवाही हुँदा ज्यान गएको हो, घटना शंकास्पद छ, अस्पतालले छानबीन गर्नुपर्छ ।’ मृतक बालिकाका आमाबुवा रोजगारीको लागि भारत गएका छन् । आमाबुवा भारतबाट नआउँदासम्म दिक्षाको शवलाई सुर्खेत अस्पतालमा लगेर राखिएको छ ।
कुहिन नदिन मृत्यु भएकी बालिकाको शवलाई सुर्खेत लगिएको बताइएको छ । आमाबुवा रोजगारीको सिलसिलामा भारतमा रहेको र आफू नआउँदासम्म पोष्टमार्टम नगर्न माग राखेकाले शव कुहिनबाट जोगाउन सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । नगर अस्पतालले नागरिकको स्वास्थ्यमाथि पटक–पटक लापरवाही गर्दै आएको स्थानीयले बताउँछन् ।
रुकुम पश्चिम
प्रतिक्रिया