पर्वतका सरकारी कार्यालयहरुको कार्यमा पत्रकारका प्रश्नै प्रश्न

पर्वत । जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखसँग पर्वतका पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा जिल्लामा क्रियासिल पत्रकारहरुले विभिन्न कार्यालयको सेवाको विषयमा प्रश्न राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले आयोजना कार्यालय प्रमुख र पत्रकारका बिचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रमका सहभागीहरुले मध्यपहाडी लोकमार्ग आयोजनाको कुश्मा बजार क्षेत्रमा निर्माण गरिएको फुटफाथ देखाउँदै सरकारको काममाथि प्रश्न उठाएका थिए । सडक किनारमा निर्माण गरिएको फुटफाथ मानिसलाई फसाउने एम्बुस भएको सञ्चारकर्मीको भनाई थियो ।

उक्त कार्यक्रममा सञ्चारकर्मीले हाइड्रोपावरको जिल्ला पर्वतमा पटक–पटक हुने विद्युत आपूर्ति बन्दको कारण मागेका थिए । वर्षायामको सुरुवात पहिलादेखि नै विद्युत आपूर्तिमा कुश्मा बजारसँगै जिल्लाका विभिन्न बस्तीहरुमा समस्या परिरहेको छ । लामो समयसम्म विना सूचना विद्युत अवरुद्ध हुने गरेको छ । उता, मध्यपहाडी लोकमार्ग आयोजनामा निर्माणाधिन तमादीखोला पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन् ।

हुवास लुंखु सडक निर्माणमा लापरबाही हुँदा त्यहाँका बस्ती जोखिममा परेका छन् । उता, बजार क्षेत्रकै पर्वत अस्पताल मार्गको स्तरोन्नती हुन नसक्दा नागरिकले दुःख ब्यहोर्न परेको छ । उता, निर्माणब्यवसायीको चरम लापरबाहीका कारण कालीगण्डकी लोकमार्ग आयोजनाअन्तर्गतको लामायखोला मोटरेवल पुल लामो समयदेखि निर्माण अझै हुन सकेको छैन ।

लोकमार्गको मोदीवेणी खण्डको स्तरोन्नती हुन नसक्दा दक्षिणी पर्वतबासीले सास्ती ब्यहोर्दै आइरहेका छन् । कार्यक्रमका सहभागी सञ्चारकर्मीहरुले उत्तरदेखि दक्षिणसम्म सरकारी कार्यालयहरुले सञ्चालन गर्ने कार्यक्रमहरुबाट लाभान्वित जनता प्रत्यक्ष रुपमा जोडिन नसकेको बताएका थिए । कार्यालयहरुले सम्पन्न गरेकाहरुको प्रचारप्रसारमा थप व्यवस्थित बनाउँदै समानुपातिक विज्ञापन प्रणालीको विकास गर्न समेत सञ्चारकर्मीले कार्यालय प्रमुखहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा संघ तथा प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०८०–०८१ को प्रगति विवरण प्रस्तुत गरेका थिए । पत्रकारहरुले उठाएका विषयमा सम्बन्धित कार्यालयले जवाफ दिएका थिए । प्रश्न र जिज्ञासाहरुको समाधानका लागि आफूले आगामी दिनमा पहल गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया