काठमाडौं । दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ । अस्पतालकी निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताएकी हुन् ।
बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।
विमानमा सवार अन्य १८ जनाको मृत्यु भइसकेको छ । शाक्यलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो ।
‘क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ, उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ भाच्चिएका छन्’, विज्ञप्तिमा भनिएको छ । अस्पतालले विमान दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हर्दिक समवेदना व्यक्त गरेको छ ।– रासस
प्रतिक्रिया