त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान जहाज दुर्घटना भएको छ । जहाजमा सवार १८ जना यात्रुहरूको घटनास्थलमै मृत्यु भएको छ । मर्मतका लागि पोखरा लैजान लागिएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको हो । जीवितै उद्धार गरिएका चालक मनीषरत्न शाक्यलाई स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना गरिएको छ । इन्जिनको पूर्ण मर्मतका लागि पोखरा लैजान लागिएकोले जहाजमा सर्वसाधारण यात्रु नभएको सौर्य एयरलान्सले जनाएको छ । एयरलाइन्सका अनुसार जहाजमा सवार सबै यात्रु आफ्नै कम्पनीका स्टाफ हुन् । जहाजलाई पोखरामा लगेर मर्मत गर्नका लागि उनीहरू सवार भएका हुन् । तर, मृत्यु हुनेमा अन्य कार्यालयका कर्मचारी तथा नाबालकसमेत रहेका छन् । काठमाडौँमा मर्मतको सुविधा नभएका कारण जहाजलाई पोखरा लैजान लागिएको विमान कम्पनी स्वयंले जनाइसकेको छ । मर्मत गर्नुपर्ने अवस्थामा पुगेको विमानमा यति धेरै यात्रु किन राखियो ? प्राविधिकहरूले उडान अनुमति कसरी दिए भन्ने प्रश्न स्वतः उत्पन्न भएको छ । जतिसुकै थोत्रा जहाज दुर्घटना हुँदा पनि प्रायःजसो चालककै दोष देखाउने प्रचलन छ । तर, यो दुर्घटनामा चालक जीवितै रहेका कारण त्यस्तो संभावना कम छ । छानविन प्रतिवेदनपछि धेरै हदसम्म यथार्थ विवरण आउने अनुमान गर्न सकिन्छ । दुर्घटनाग्रस्त जहाज त्यति पुरानो होइन, २२ वर्ष अघि क्यानडामा बनेको हो । तर, इन्जिनको उडान अवधि भने सकिएको थियो ।
केही दिनअघि चितवनको सिमतालमा ६५ यात्रुसहित २ वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता हुँदा सरकार बेखबर जस्तै थियो । संघीय संसद् एउटा सरकार फालेर अर्को सरकार निर्माण गर्ने प्रक्रियामा व्यस्त थियो । तर, यो दुर्घटना भने सबैका लागि चासोको विषय बन्यो । दुर्घटना लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थल पुगेका थिए । बसमा दुर्घटना र जहाज दुर्घटनाबीचको मुख्य फरक भनेको यही हो । बसमा दुर्घटनालाई जति सामान्य मानिन्छ, जहाज दुर्घटनालाई त्यति नै असामान्य मानिन्छ । बसमा गरिब यात्रु सवार गर्ने तर जहाजमा धनी यात्रु सवार हुने भएका कारण सरकारलगायत धेरैको चासोमा विभेद देखिएको अनुमान धेरैको हुने गर्छ, तर यति मात्रै कारण होइन । हवाई यातायातलाई सडक यातायातको तुलनमा धेरै गुणाबढी सुरक्षित मानिन्छ । विश्वका अन्य देशहरूमा बस दुर्घटना प्रायःजसो हुने गर्छ भने हवाई दुर्घटना अपवादमा मात्रै हुन्छ । त्यसैले जहाज दुर्घटनाको समाचार विश्वव्यापी बन्छ ।
त्यसैले चासो पनि धेरै हुन्छ । तर सेवा लिने यात्रुहरूको संख्यालाई आधार मान्ने हो भने हाम्रो देशमा बस दुर्घटना र जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या उस्तैउस्तै छ । जसका कारण नेपालको आकाश असुरिक्षत छ, नेपालको हवाई यातायात लापरबाहीपूर्ण छ भन्ने सन्देश विश्वभर गएको छ ।
आफ्नो छवी सुधार्दै गएको सौर्य एयरलाइन्सलाई जहाज दुर्घटनाका कारण ठूलो क्षति भएको छ । तर, त्यो भन्दा ठूलो क्षति देशलाई भएको छ । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र भर्खरभर्खर लयमा फर्कन थालेको थियो । कोरोना महामारी तथा त्यस पछिको आर्थिक मन्दीका कारण थला परेका पर्यटन व्यवसायीहरूमा आशा जाग्दै थियो । दुर्भाग्यवस यही बेला जहाज दुघर्टना भइदियो । जहाज दुर्घटनाले सबैभन्दा ठुलो असर पुर्याउने भनेको पर्यटन व्यवसाय हो । किनकी नेपालमा सरकार परिवर्तन भएको घटना अन्तर्राष्ट्रिय मिडियामा समाचार बन्दैन, तर जहाज दुर्घटनालाई अन्तर्राष्ट्रिय मिडियाले महत्वका साथ समाचार बनाउँछन् । कुनै पनि पर्यटक भ्रमणमा निस्कनुअघि पहिलो चासो त्यो देशको यातायात सेवा के कति सुरक्षित छ ? भन्ने विषयतर्फ हुन्छ, त्यसपछि मात्रै खाने बस्ने विषयमा चासो हुन्छ ।
केही साहसिक पर्यटकबाहेक अधिकांश पर्यटकहरूले आफ्नो ज्यान जोखिममा पर्ने गरी भ्रमण गर्दैनन् । नेपालमा भ्रमण गर्नु भनेको ज्यान जोखिममा पार्नु हो भन्ने सन्देश जहाज दुर्घटनाले दिएको छ । यति मात्रै होइन, नेपालमा थोत्रा विमानहरू सञ्चालन गरिन्छ भन्ने डरलाग्दो सन्देश दिएको छ । त्यसैले जहाज दुर्घटना छानविनका क्रममा यी सबै पाटोहरूलाई उत्तिकै ध्यान दिनु जरुरी छ ।
प्रतिक्रिया