नेपालको वैदेशिक व्यापार घाटामा सुधारका संकेतहरू देखिएका छन् । विदेशी बस्तुको आयात क्रमशः घट्न थालेको छ । स्वदेशी बस्तुको निर्यात झिनो रूपमै भए पनि क्रमशः बढ्न थालेको छ । २ वर्षअघि अर्थात आर्थिक वर्ष २०७८/०७९ मा करिब १९ खर्ब रुपैयाँको विदेशी बस्तु आयात भएकोमा बितेको आर्थिक वर्ष ०८०/०८१ मा करिब १६ खर्ब रुपैयाँको विदेशी बस्तु आयात भएको छ । त्यसो त स्वदेशी बस्तु विदेश निर्यात पनि घटेको छ । २ वर्षअघि पौने २ खर्ब रुपैयाँ बराबरको स्वदेशी बस्तु निर्यात भएकोमा बितेको आर्थिक वर्ष जम्मा डेढ खर्ब रुपैयाँ बराबरको विदेशी बस्तु निर्यात भएको छ ।
विदेशी बस्तु आयात घट्दैमा देशको अर्थतन्त्र आत्मनिर्भरतातिर गएको मान्न सकिन्न । के कस्ता बस्तुहरूको आयात घटेको छ ? भन्ने कुरा विश्लेषण गर्नुपर्ने हुन्छ । उपभोक्ताको क्रयशक्ति घटेका कारण बस्तु आयात घटेको हो भने देशको अर्थतन्त्रका लागि सकरात्मक संकेत मान्न सकिन्न ।
विकास निर्माणको गति घटेका कारण आयात घटेको हो भने पनि सकरात्मक संकेत मान्न सकिन्न । स्वदेशी उत्पादनले विदेशी बस्तुलाई विस्थापित गरेका कारण आयात घटेको हो भने मात्रै उपलव्धी मान्नुपर्ने हुन्छ । तर बिजुली, सिमेन्ट, प्लाइउड, फलफूलको जुसबाहेक स्वदेशी उत्पादनले आयातलाई विस्थापित गरेको देखिँदैन । यसैगरी स्वदेशी वस्तुको निर्यात परिमाण घट्दैमा अर्थतन्त्र परनिर्भरतातिर गएको मान्न सकिन्न । कस्ता प्रकारका बस्तुहरूको निर्यात घटेको छ र कस्ता प्रकारका बस्तुको निर्यात बढेको छ ? भन्ने तथ्यांक ज्यादै महत्वपूर्ण हुन्छ ।
यो तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालको बस्तु निर्यात सकरात्मक देखिन्छ । किनकी २ वर्षअघि पौने २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा करिब २० प्रतिशत हिस्सा सोयाबिन तेल तथा पाम तेलले ओगटेको थियो । तर, करिब ३५ अर्ब रुपैयाँको भटमास र पाम तेल निर्यात हुँदै गर्दा यसका लागि आवश्यक कच्चा पदार्थ करिब ६२ अर्ब रुपैयाँको आयात भएको थियो । तर, अहिले यो धन्दा ठप्प भएको छ । वैदेशिक व्यापारको आकार स्वाठ्ठै घट्नुको मुख्य कारण यही हो । विदेशबाट भन्सार सुविधा लिएर बस्तु आयात गर्ने र त्यही बस्तुलाई सामान्य प्रशोधन गरी विदेश निर्यात गर्ने धन्दा कमी आउनु नकरात्मक होइन ।
स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरूको निर्यात बढ्दै गएको छ तर विदेशी बस्तु ल्याएर सामान्य मूल्य अभिवृद्धि गरी बिक्री गरिने वस्तुहरूको निर्यात भने घट्दै गएको छ । पछिल्ला २ आर्थिक वर्षदेखि देखिएको यो संकेतलाई सकरात्मक मान्नुपर्ने हुन्छ । उदाहरणका लागि भटमास तथा पाम तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा ठूलो रकम बिदेसिने गरेको थियो, तर उत्पादित तेल निर्यात गर्दा बढीमा २–३ प्रतिशत मात्रै मूल्य अभिवृद्धि हुने गरेको थियो । त्यो पनि भारतले आँखा चिम्लिदिएका कारण । यस्तो धन्दामा आफ्नै देशका व्यापारी संलग्न भएका कारण पनि भारतले आँखा चिम्लिएको हो । तर सिमेन्ट, प्लाइउड, बिजुली लगायतका बस्तु भने स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम तथा स्वदेशी पुँजीद्वारा नै उत्पादन गरिएका हुन् ।
यस्ता बस्तुको निर्यात उल्लेख्य बढेको छ । गत वर्ष करिब १५ अर्ब रुपैयाँको बिजुली निर्यात भएको छ । करिब ४ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । करिब ५ अर्ब रुपैयाँको प्लाइउड निर्यात भएको छ । करिब ६ अर्ब रुपैयाँको फलफूलको जुस निर्यात भएको छ । यसैगरी जुट, अलैँची, अदुवा, चिया, कफीलगायत कृषि उपजको निर्यात पनि बढेको छ ।
तर, सन्तोष मान्नुपर्ने अवस्था भने छैन । कृषिप्रधान देश भइकन पनि खाद्यान्न आयात घट्न सकेको छैन । बिजुलीको उत्पादन पर्याप्त हुँदासमेत एलपी ग्यासको आयात घट्न सकिरहेको छैन । विदेशी पर्यटकबाट भित्रिने रकमभन्दा शिक्षा, स्वास्थ्य उपचार तथा भ्रमणका नाममा बिदेसिने रकम करिब दोब्बर छ ।
प्रतिक्रिया