राष्ट्रपतिकाे उम्मेदवार बन्न मलाई पार्टीबाट पर्याप्त समर्थन छ : कमला ह्यारिस

वासिङ्टन डिसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न पर्याप्त समर्थन रहेको बताएकी छन् ।

‘आफ्नो पार्टीबाट उम्मेदवार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु, म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु’, ह्यारिसले एक विज्ञप्तीमार्फत भनेकी छन् ।

डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतिय चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका हुन् ।

उनले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । ह्यारिसले पूर्वसभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाइएको छ ।– रासस, सिन्ह्वा

प्रतिक्रिया