ह्यारिसलाई ट्रम्प कति भारी ?

जो बाइडेनले छाडे चुनावी मैदान

न्युयोर्क । सबै पक्षबाट अत्यधिक दबाब आएपछि जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको उम्मेदवारी त्यागेका छन् । बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि डेमोक््रयाटिक पार्टीका तर्फबाट बाइडेनको समर्थन कमला ह्यारिसलाई हुनेछ । अबको निर्वाचन भिडन्त ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच हुने सम्भावना पनि प्रबल भएको छ । ४ वर्षअघि बाइडेनलाई राष्ट्रपति बनाउन ह्यारिसको भूमिका महत्वपूर्ण थियो ।

दलको तर्फबाट उम्मेदवारी पाउन आफूले सबै प्रयास गर्ने उनले बताएकी छिन् । बाइडेनका साथै पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनलगायत दर्जनौँ सांसद र गभर्नरले उनलाई समर्थन गरेका छन् । यससँगै उनी पार्टीको उम्मेदवार बन्ने स्पर्धामा सबैभन्दा अगाडि छिन् । तर, उनको मनोनयन निश्चित भइसकेको छैन । डेमोक््रयाटिकले उनलाई नै उम्मेदवार घोषित गरेर विजयी भएमा अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपतिका साथै दोस्रो अश्वेत राष्ट्रपतिको कीर्तिमान पनि उनले बनाउनेछिन् ।

अहिले निर्वाचन तयारीको क्रममा बाइडेनले जम्मा गरेको १०० मिलियन अमेरिकी डलर पनि उनले चलाउन पाउनेछिन् । यसका बाबजुद जोखिम भने कायमै छ । पब्लिक सर्वेक्षणले ह्यारिसलाई ट्रम्पभन्दा धेरै पछि देखाएको छ । ह्यारिसलाई केही आरोप पनि लगाइएको छ । उनी उपराष्ट्रपति हुनेबित्तिकै मेक्सिको सीमामा अवैध आप्रवासी रोक्ने जिम्मेवारी पाए पनि यसमा पूर्ण रूपमा असफल भएकी छिन् । उनका धेरै अभिव्यक्तिसमेत विवादमा आएका थिए । गर्भपतनको पक्षमा उनले दिएको अभिव्यक्ति पनि विवादमा परेको थियो ।

धेरै कारणले ह्यारिसको उम्मेदवारी डेमोक््रयाटिक पार्टीका लागि जोखिम हुन सक्छ । तथापि सो दलसँग अर्को उपयुक्त विकल्प पनि देखापरेको छैन । यो घटनाले अर्को महिना सिकागोमा आयोजना हुने डेमोक््रयाटिक पार्टीको राष्ट्रिय सम्मेलन पनि पेचिलो बन्ने भएको छ । सो सम्मेलनले ह्यारिसलाई अस्वीकार गरे अर्को उम्मेदवार चयन गर्न पनि केही समय लाग्न सक्ने देखिएको छ । त्यतिबेला अमेरिकामा निर्वाचनको मिति पनि नजिक आइसकेको हुनेछ । ५ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ ।

अहिले ह्यारिसको विरुद्धमा निर्णय भए आफ्नो मौका आउने आसमा धेरै नेताहरू रहेको जनाइएको छ । यो घटनाले रिपब्लिकन पार्टीलाई पनि चुनावी रणनीति फेर्न बाध्य बनाएको छ । बाइडेनमाथि एकोहोरो आक्रमण गर्ने रिपब्लिकनको नीति थियो । डेमोक््रयाटिक भने ट्रम्प माथिभन्दा बढी रिपब्लिक पार्टीमाथि नै आक्रामक देखिएको छ ।

रिपब्लिकनले बाइडेनको उमेरलाई मुख्य चुनावी मुद्दा बनाएको थियो । युवाहरूमा बढ्दै गएको ट्रम्पप्रतिको आकर्षणलाई यस निर्णयले रोक्न सक्ने अनुमान गरिएको छ । ह्यारिसको उमेर ट्रम्पका लागि चुनौतीको विषय हुनेछ । ट्रम्पले ह्यारिसलाई ‘रेडिकल वामपन्थी’ को संज्ञा दिएका थिए । डेमोक््रयाटिकले ह्यारिसलाई उम्मेदवार बनाएर ट्रम्प विजयी भएमा उनी दोस्रो पटक महिला प्रतिस्पर्धीलाई पराजित गर्दै राष्ट्रपति बन्नेछन् । सन् २०१६ मा भएको निर्वाचनमा पहिलो पटक हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प राष्ट्रपति भएका थिए ।

बाजिगरहरूले ह्यारिसले जित्ने सम्भावना ३८ प्रतिशत मात्र रहेको जनाएका छन् । बाइडेन नै उम्मेदवार भएमा ट्रम्पले जित्ने सम्भावना ६५ प्रतिशत रहेको जनाइएको थियो । त्यसो त ह्यारिसलाई सन् १९८८ को जर्ज डब्लू बुसको उम्मेदवारी अभियानको झझल्को दिलाएको छ । सुरुआतमा सर्वेक्षण तथा बाजिगरको आँखामा एकदमै पछि परेका तत्कालीन उपराष्ट्रपति बुस अन्तिम ३ महिना आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

बाइडेनले ह्यारिसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि अमेरिकाको अर्थनीतिमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा अध्ययन हुन थालेको छ । बाइडेनको नीतिले केही क्षेत्रमा क्षतिपूर्तिको बाटो खोलेको थियो । केही ठुला उद्योगहरूलाई अप्ठेरो समयमा १५ प्रतिशतसम्म कर छुट दिइएको थियो । बाइडेनले वार्षिक ४ लाख अमेरिकी डलरभन्दा कम आय भएका परिवारका लागि कर छुटको दायरा समेत बढाएका थिए । यो नीतिबारे समेत छलफल हुन थालेको छ ।

प्रतिक्रिया