वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं । रोटरी इन्टरनेशनलले यसवर्षको ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको छ । रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा क्लबका पदाधिकारीले आज ९६ वर्षीय पत्रकार रिसाल निवास अनामनगर पुगी अवार्ड प्रदान गरे । पुरस्कारको राशि रु एक लाख एक हजार र सम्मानपत्र छ ।

अवार्ड ग्रहण गर्दै पत्रकार रिसालले पछिल्लो समय पत्रकारिताको मूल्य, मान्यता र आदर्श खस्किएको धारणा राखे । उनले आजको अवस्थामा पत्रकारिताको उच्च व्यावसायिक अभ्यासमार्फत राष्ट्र र जनताका खारित आवाज बुलन्द हुनुपर्नेमा जोड दिए । अवार्डले आफूलाई सक्रिय जीवनका लागि थप ऊर्जा र प्रेरणा मिलेको पनि रिसालले बताए ।

रोटरी जर्नो अवार्ड समितिकी निमित्त अध्यक्ष नम्रता शर्माले पत्रकारिताको माध्यमबाट राष्ट्रका लागि गरेको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताइन् । वातावरण, शिक्षालगायत क्षेत्रका सात विधामा अवार्ड दिँदै आएको रोटरीले यस वर्षदेखि पत्रकारितामार्फत देश र समाजका लागि योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने परम्पराको थालनी गरिएको उनले जानकारी दिइन् ।

पुरस्कारका लागि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को संस्थापकसमेत रहेका सुरेश आचार्यले वरिष्ठ पत्रकार भैरव रिसालले जीवनभर पत्रकारितामार्फत योगदान दिएकाले उनको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताए । उनले वरिष्ठ व्यक्तित्वलाई अवार्ड प्रदान गर्न पाउँदा पुरस्कारको ओज बढेको बताए ।

आचार्यले आफ्ना स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मरणमा रु एक लाख एक हजार कोषमा प्रदान गरेका छन् । सोही रकमबाट ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो । पुरस्कार यसै वर्षदेखि हरेक दुई वर्षमा प्रदान गरिने बताइएको छ ।– रासस

प्रतिक्रिया