लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्य नियुक्त भएका छन् । उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उक्त प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले संसदीय दलका उपनेता समेत रहेका आचार्यले सोमबार मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए ।
उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको थियो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचना अनुसार नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।
यसै अनुरुप प्रदेशसभामा रहेका एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जना सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री आचार्यसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरीलगायतका सदस्यहरू पुगेका थिए ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्यले यसअघि आन्तरिक मामिला तथा कानुन, ग्रामीण खानेपानी तथा सहरी विकास र आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
प्रतिक्रिया