काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताएका छन् । आइतबार सिंहरदरबारस्थित मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताएका हुन् ।
मन्त्री चौधरीले भने, ‘हामीसँग जग्गा छ । लैनचौरको जग्गा विवाद हामी सकभर छिटो समाधान गर्नेछौँ । त्यसमा हामी पर्यटकीय प्रयोग हुने गरी तालिम केन्द्र बनाउन सक्छौँ ।’ उनले स्काउटलाई खेलकुद पर्यटनको माध्यम बनाउने गरी पहल गर्ने समेत प्रतिवद्धता जनाए ।
स्काउटको लालपुर्जा सहितको जग्गा १२ जिल्लामा रहेको भए पनि सही उपयोग नभएको भन्दै मन्त्री चौधरीले यसको सही तथ्यांक निकाल्नसमेत निर्देशन दिए । ‘हामीसँग १२ जिल्लामा लालपुर्जासहितको जग्गा छ । जसमा कहाँ के भइरहेको छ । यसको तथ्यांक हुनुपर्छ । सक्दो छिटो साउन महिनाभरीमा हामीले स्काउटको जग्गा कहाँ कसरी प्रयोग भइरहेको छ । त्यो थाहा पाउनसके त्यसको व्यवस्थापनमा हामी जानेछौँ’, उनले भने ।
उनले स्काउटको जग्गा सदुपयोगका लागि प्रदेश तथा स्थानीय निकायसँग पहल गरी तालिम केन्द्र तथा स्काउट अफिसको स्थापनाका लागि पहल गर्नेसमेत बताए । स्काउटको विस्तार र विद्यालयस्तरीय पहुँचको दायरासमेत फराकिलो बनाउनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया