काठमाडौं । महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत आज नेपालले पाकिस्तानलाई जितका लागि १०९ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रनको योगफल बनाएको हो । अब पाकिस्तान केही बेरमा जवाफी ब्याटिङमा उत्रने छ ।
यही साउन ६ गते शुक्रबारबाट सुरु भएको उद्घाटन खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरिसकेको थियो । एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा खेलेका थिए । उक्त खेलमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो ।
गत शुक्रबार टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाएर नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो । नेपालले आज पाकिस्तानसँग दोस्रो खेल खेलेपछि मंगलबार भारतसँग तेस्रो खेल खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।
प्रतिक्रिया