राजनीतिमा सामान्यतया ३ प्रकारका मानिस हुन्छन्, ‘राजनेता, राजनीतिज्ञ र राजनीतिकर्मी ।’ सैद्धान्तिक तथा वैचारिक धरातल आफैँ निर्माण गरी देशमा अग्रगामी परिवर्तन गर्न र भविष्यका लागि मार्गदर्शन गर्न सक्नेहरूलाई राजनेता भन्ने गरिन्छ । बनिबनाउ सैद्धान्तिक तथा वैचारिक धरातलमा टेकेर अग्रगामी परिवर्तनका लागि जनताको विश्वास जित्न सक्नेलाई राजनीतिज्ञ भन्ने गरिन्छ । बनिबनाउ धरातलमा बसेर सत्ता प्राप्तिका लागि गतिविधि गर्नेहरूलाई राजनीतिकर्मी भन्ने गरिन्छ । यस हिसाबले नेपालमा राजनेताहरूको खडेरी देखिन्छ ।
कुनै पनि देशमा राजनेता एक युगमा एक जना मात्रै जन्मिन्छ । आधुनिक नेपालको कुरा गर्नुपर्दा पृथ्वीनारयाण शाह राजनेता हुन् भन्ने विषयमा कसैको पनि विमति देखिँदैन । बिपी कोइराला राजनेता हुन् या राजनीतिज्ञ हुन् ? भन्ने विषयमा धेरै तर्क वितर्कहरू आउने गरेका छन् । नेपालमा आधुनिक राजनीतिक युगको सुरुआत २००७ सालको जनक्रान्तिले गरेको हो । बिपी कोइरालाले निर्माण गरेको सैद्धान्तिक तथा वैचारिक धरातलमै २००७ सालको जनक्रान्ति सम्पन्न भएको हो । २००७ सालको जनक्रान्तिको डिजाइन बिपी कोइरालाले नै गरेका हुन् ।
नेपालमा अहिले चलिरहेको शासन व्यवस्थाको जग बिपी कोइरालाकै मार्गदर्शनमा टेकेर निर्माण भएको हो । देशको आर्थिक नीति कस्तो हुनुपर्ने ? परराष्ट्र नीति, सुरक्षा नीति, विकास नीति, सामिजिक नीति कस्तो कस्तो हुनुपर्ने ? भन्ने मार्गदर्शन बिपी कोइरालाले दिएका छन् । उनको भन्दा पृथक खालको तथा सर्वस्वीकार्य मार्गदर्शन अरूबाट अहिलेसम्म आउन सकेको छैन । त्यसैले बिपी कोइरालालाई राजनेताको सूचीमा राख्नुपर्ने तर्कलाई अर्घेल्याइँ भन्न मिल्दैन ।
राजनेता बिपी कोइरालाको जन्म २०७१ साल भदौ २४ गते र निधन २०३९ साल साउन ६ गते भएको हो । उनले जन्माएर हुर्काएको पार्टी नेपाली कांग्रेसले यी दुइटा मितिलाई पर्वका रूपमा मनाउँदै आएको छ । अन्य राजनीतिक दल तथा खास गरी कला साहित्यसँग सम्बन्धित संघसंस्था एवं अगुवाहरूले पनि यी दुई मितिमा बिपीलाई सम्झिने गरेको पाइन्छ । किनकि बिपी राजनेता मात्रै नभएर दूरदर्शी साहित्यकार पनि हुन् ।
उनको राजनीतिक मार्गदर्शन मात्रै होइन, साहित्यिक कृतिहरू पनि कालजयी छन् । कुनै पनि व्यक्तिको स्मृति दिवस मनाउनुको उद्देश्य भनेको उसको योगदान तथा मार्गदर्शनलाई नयाँ पुस्तामाझ परिचित गर्दै लैजानु हो, ताकि नयाँ पुस्तालाई प्रेरणा मिलोस् । तर, पछिल्ला वर्षहरूमा बिपी कोइरालाको स्मृति दिवस वार्षिक श्राद्ध जस्तै कर्मकाण्डमा मात्रै मनाउने विकृति सुरु भएको छ ।
नेपालको वामपन्थी कित्ता र राजावादी कित्ताले जीवित छउन्जेल बिपी कोइरालालाई बुझ्नै चाहेन । दुष्प्रचारको लहलहैमा लागेर महत्वपूर्ण अवसर गुमायो । नेपाली कांग्रेसका भने पहिलो र दोस्रो पुस्ताका धेरैले बिपीको सानिध्यमा रहेर मार्गदर्शनको अवसर प्राप्त गरे । बिपी कोइरालाको निधन भएको पनि ४२ वर्ष बितिसकेको छ ।
४२ वर्षको यो अन्तरालमा नेपाली कांग्रेसका पहिलो पुस्ताका नेताहरू कोही पनि जीवित छैनन् । दोस्रो पुस्ताका सीमित नेताहरू राजनीतिमा छन्, तर उनीहरूले बिपी कोइरालाको सानिध्यता पाएको सन्देश दिने गरी न देश चलाउन सके न पार्टी चलाउन सके । जसका कारण यतिबेला नेपाली कांग्रेसको तेस्रो पुस्ता सिद्धान्त र विचारविहीन राजनीतिकर्मीको झुण्ड सावित भएको छ । अहिले नेपाली कांग्रेसको पार्टी संयन्त्रमा हावी भएका कैयौँलाई बिपी कोइरालाको विषयमा केही पनि थाहा छैन ।
उदाहरणका लागि नेपाली कांग्रेसमा क्रियाशील रहेर सत्तामा महत्वपूर्ण अवसर पाएका स्वर्णिम वाग्लेले सार्वजनिक रूपमै रवि लामिछानेलाई बिपी कोइरालासँग तुलना गरे । यो स्वर्णिम वाग्लेको मात्रै अयोग्यता होइन, नेपाली कांग्रेसको तेस्रो पुस्ता नालायक हुनुमा दोस्रो पुस्ताका राजनीतिकर्मीहरूको दोष हो । कांग्रेसको दोस्रो पुस्ताभन्दा तेस्रो पुस्ता अझ नालायक बन्दै जानु भनेको देशको राजनीतिका लागि खतराको संकेत हो ।
केवल सत्ता प्राप्तिको स्वार्थ राखेर जमघट भएको झुण्डले योगदान पुर्याउन सक्दैन, केवल देशलाई बर्बाद मात्रै बनाउँछ । अझै पनि समय घर्किएको छैन । बिपी कोइरालाको आत्मवृत्तान्त मात्रै कार्यकर्ताहरूको हातहातमा पुर्याइ दिने हो भने आधाजसोले पढ्छन् । पढ्नेमध्ये आधाजसोले ग्रहण पनि गर्न सक्छन् ।
प्रतिक्रिया