काठमाडौं । महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत आजबाट सुरु भएको उद्घाटन खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।
खेलअघि टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाएर नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो । यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमै विजय लक्ष्य पूरा गरेको हो ।
श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजबाट सुरु भएको खेलमा नेपाललले टस जितेर यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।
नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिइन् । उनले आफ्नो स्पेलमा १९ रन खर्च गरिन् । सवनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट लिए । एसिया कपमा नेपाल रहेको समूहमा नेपालसहित यूएई, भारत र पाकिस्तान छन् । आइतबार पाकिस्तान र मंगलबार भारतसँग खेल्नेछ ।
ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको हो । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको छ ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेकाे नेपाल यसअघि एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् ।
सीता रानामगर ७, कविता कुँवर २, इन्दु वर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् ।
एक समय यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् ।
नेपालकी कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो ।
सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो । अर्को समूहमा थाइल्यान्ड, मलेसिया, श्रीलंका र बंगलादेश छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।
प्रतिक्रिया