जनकपुरधाम । साउने सोमबारको पूर्वसन्ध्यामा जनकपुरधाम–१६ मा रहेको कपिलेश्वरनाथ महादेव मन्दिरमा भव्य तयारी गरिँदै छ । साउन महिनामा पर्ने प्रत्येक सोमबार शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको भिड लाग्ने हुँदा कपिलेश्वरनाथ महादेव मन्दिरमा सोको भव्य तयारी गरिएको कपिलेश्वरनाथ युवा कमिटिका अध्यक्ष मनोजकुमार साहले बताए ।
साउन ५ गते शनिबार कलश यात्रासँगै साउने सोमबारी मेलाको सुरुआत हुने अध्यक्ष साहले बताए । यसका साथै साउन ७ गते सोमबारबाट साउन महिनाभरी भव्य सन्ध्या आरतीको आयोजना गरिनेछ ।
स्थानीय कपिलेश्वरनाथ युवा कमिटीका युवाहरूले प्राचीन यो मन्दिरको ऐतिहासिकताको प्रचारप्रसार गर्ने उद्देश्यले प्रत्येक वर्ष शिवरात्री मेलाका साथै साउन महिनाको सोमबारे मेलाको भव्य आयोजना गर्दै आइरहेको छ । श्रद्धालु भक्तजनलाई भगवान् शिवको दर्शन गर्दा असहज परस्थितिको सिर्जना नहोस् त्यसका लागि व्यवस्थासमेत मिलाइएको अध्यक्ष साहले बताए ।
कमिटीका सल्लाहकार एवं सञ्चारकर्मी श्रीनारायण साहले कपिलेश्वरनाथ महादेव मन्दिरको प्राचीनता तथा ऐतिहासिकताबारे मन्तव्य राखेका थिए ।
स्थानीय कपिलेश्वरनाथ युवा कमिटीका युवाहरूले यो मन्दिरको धार्मिक महत्व तथा ऐतिहासिकता बचाउनका लागि मन्दिरको विकास र संरक्षणको माग पटकपटक उठाउँदै आइरहेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा शिरध्वज(जनक) ले राजधानी जनकपुरधामको चारै कुनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वरनाथ महादेव मन्दिरको स्थापनासमेत गरेका थिए । स्थानीयवासीहरूका अनुसार कपिलेश्वरनाथ महादेव मन्दिरमा हालसम्म १८ वटा महन्थ भइसकेका छन् ।
पत्रकार सम्मेलनमा सहभागी जनकपुरधाम उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामचन्द्र पजियारले कपिलेश्वरनाथ मन्दिरको संरक्षण विकासको काम स्थानीयवासीको अग्रसरता तथा चन्दा संकलन गरेर हुँदै आइरहेको जानकारी दिए । उनले यति प्राचीन शिवलिंग रहे पनि यो मन्दिरको विकासतर्फ न प्रदेश सरकारले न जनकपुरधाम उपमहानगरपालिकाले चासो देखाएको आरोप लगाए ।
१९९० सालमा आएको भूकम्पमा मन्दिर भत्किएपछि त्यहाँ रहेको अभिलेख तथा त्यहाँका बहुमूल्य मूर्तिहरू कहाँ लगियो यो विषयमा कसैलाई कुनै जानकारी नरहेको र यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको स्थानीयवासीहरूको भनाइ छ ।
प्रतिक्रिया