एसिसी महिला टी–२० आजदेखि

कोलम्बो । एसिसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण शुक्रबारदेखि श्रीलंकाको डम्बुलामा सुरु हुँदै छ । १९ देखि २८ जुलाईसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित ८ राष्ट्रको सहभागिता रहेको छ ।

नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहेको छ । २ बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । नेपालको समूहमा चौथो टोलीको रूपमा संयुक्त अरब इमिरेट्स (युएई) छ । समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।

प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट २–२ टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने टोलीबीच १३ साउनमा फाइनल हुनेछ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार युएईसँग खेल्दै छ ।

नेपाली टोलीले समूहगत चरणमा आफ्नो दोस्रो खेल २१ जुलाईमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल २३ जुलाईमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ ।

एसिया कपको अन्तिम तयारी र सहभागिताका लागि नेपाली टोली करिब २ साताअघि नै श्रीलंका पुगेको थियो । एसिया कप सुरु हुनुअघि नेपालले श्रीलंकामै ३ अभ्यास खेल पनि खेलेको थियो । तेस्रोपटक एसिया कपमा सहभागी भएको नेपाली टोलीबाट यसपटक उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ ।


नेपाल क्रिकेट संघ (क्यान)द्वारा एसिया कपका लागि घोषित नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् ।

नेपाली टोलीमा रहेका केही खेलाडीसँग यसअघि पनि एसिया कप खेलिसकेको अनुभव छ । केही खेलाडी भने पहिलोपटक एसिया कप खेल्ने तयारीमा छन् । यसपटक टोलीमा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ नै नगरेकी खेलाडीको उपस्थित छ ।

यसपटक अनुभवी र नयाँ प्रतिभालाई समावेश गरेर क्यानले नेपाली टोली तयार पारेको छ । एसिया कपका लागि घोषित नेपाली टोलीमा सबैभन्दा अनुभवी रुविना क्षेत्री हुन् । ३० वर्षीया रुविनाले हालसम्म देशका लागि ५५ टी–२० अन्तर्राष्ट्रियको ४६ पारीमा कुल ७४१ रन बनाएकी छन् ।
टी–२० अन्तर्राष्ट्रियमा रुविनाले १ शतक र १ अर्धशतक पनि प्रहार गरेकी छन् । उनको स्ट्राइक रेट ९४ दशमलव ८७ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर भने अविजित ११८ रन हो । उनले ११ छक्का र ७३ चौका प्रहार गरिसकेकी छन् ।

उनले टी–२० अन्तर्राष्ट्रियमा ४२ विकेट पनि लिएकी छन् । अलराउन्डर रुबिनाको बलिङतर्फ उत्कृष्ट प्रदर्शन केवल २ रन खर्चिएर ४ विकेट हो । उनी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा चौथो नम्बरमा क्रिज समाल्न आएर सर्वाधिक रन बनाउने विश्वभरका खेलाडीहरूको सूचीमा पनि पहिलो स्थानमा छिन् । उनले सन् २०२४ को फेब्रुअरी १३ तारिखमा खेलिएको माल्दिभ्सविरुद्धको खेलमा चौथो नम्बरका क्रिज समाल्न आएर अविजित ११८ रन बनाएकी थिइन् ।

टोलीको नेतृत्व गर्ने इन्दू बर्माले पनि देशका लागि ५३ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले ५३ टी–२० अन्तर्राष्ट्रियको ४६ पारीमा कुल ६३९ रन बनाएकी छन् । २६ वर्षीया इन्दूको स्ट्राइक रेट ७९ दशमलव ६७ रहेको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने अविजित ५५ रन हो । अलराउन्डर खेलाडी इन्दूले २६ विकेट पनि लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल ५ रन खर्चिएर ३ विकेट हो ।

सीता रानामगर नेपाली टोलीकी अर्की अनुभवी खेलाडी हुन् । उनी पनि टोलीकी प्रभावशाली अलराउन्डर हुन् । उनले पनि देशका लागि ५३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले टी–२० अन्तर्राष्ट्रियको ५१ पालीमा कुल ८६३ रन बनाएकी छन् ।


३२ वर्षीया सीताको स्ट्राइक रेट ८० दशमलव १२ हो । उनले टी–२० अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर भने अविजित ८२ रन हो । उनले ७ छक्का र ६९ वटा चौका प्रहार गरिसकेकी छन् । उनले १६ वटा क्याच पनि लिएकी छन् । यसका अतिरिक्त बायाँहाते मध्यम तेज गतिकी बलर सीताले ५० विकेट पनि लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल १६ रन खर्चिएर ५ विकेट हो ।

प्रतिक्रिया