सकियो प्रदीप अभिनीत एक्टरको छायांकन

काठमाडौँ । प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत वैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै सुरु भएको सुटिङ फिल्मको २ चरण गरी ४५ दिनमा सकिएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौँमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमनकुमार भण्डारीले जानकारी दिए ।

‘समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरूको साथ मिल्नाले सोचे अनुरूप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौँ । फिल्म कस्तो बन्यो भन्ने आमदर्शकलाई लाग्न सक्छ, जो होस् अब आउने ३ महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइ नै हाल्नु हुनेछ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ’, निर्माता भण्डारीले भने ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारी लगायतको अभिनय छ ।
दिव्याको भने यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब १० वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलोपटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह–निर्माता रहेको यो फिल्मको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । फिल्मका छायाकार नरेन्द्र मैनाली हुन् ।
यो फिल्म यस वर्षको तिहारको अवसर पारेर १५ कात्तिकमा लक्ष्मीपूजामा रिलिज हुनेछ । फिल्मको जापान प्रदर्शन अधिकारसमेत बिक्री भएको छ । ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।

प्रतिक्रिया