काठमाडौं । आगामी शनिबार साउन ५ गते देशकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ को १४औँ संस्करण आयोजना हुने भएको छ। जहाँ करिब ४००० साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुई लाख किलोमिटर भन्दा बढी दुरी तय गर्ने छन् । हरेक वर्ष जस्तै यो वर्ष पनि साइकल यात्रीहरुले सामाजिक कामको लागि रकम पनि संकलन गर्ने बताइएको छ ।
यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगञ्जमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ । सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौं कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट सुरु भइ काठमाडौं उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त्य हुने गर्छ । साइकल यात्रीहरुले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् ।
हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरामा यो वर्षको काठमाडौं कोरामा ललितपुर महानगरपालिका पनि सहआयोजकको रुपमा सहभागी भएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।
मेयर चिरिबाबु महर्जनले भने, ‘ललितपुर स्मार्ट सिटि बन्न चाहन्छ र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक छ, हामीले ललितपुरमा साइकल प्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकल यात्रीहरुलाई सहयोग गर्ने काम गरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीय प्रयासहरुसंगको सहकार्यले यस अभियानलाई थप टेवा दिनेछ ।’
साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिका लगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकोले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ, जसको कारण गएको वर्ष काठमाडौँ कोरामा महिला यात्रीहरुको संख्या ३४ प्रतिशत पुगेको थियो ।
प्रतिक्रिया