चुनौतीका चाङमा खेलकुदमन्त्री

काठमाडौँ । युवा तथा खेलकुदमन्त्रीको रुपमा विराजभक्त श्रेष्ठको ४ महिने कार्यकाल सकिएको छ । श्रेष्ठलाई तेजुलाल चौधरीले प्रतिस्थापन गरेका छन् । मन्त्री चौधरीले पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।

मन्त्रीले यसो भनीरहँदा नेपाली खेलकुदको मुल समस्यामा भने उनको चासो गएको छैन । कुनै पनि खेलको शक्तिसाली निकाय राष्ट्रिय संघमा रहेको मनोमानीका बारे भने विगतमा मन्त्री झै मन्त्री चौधरी पनि नाजवाफ नै छन् । खेलकुदको आधारभुत विषय नै लागू नहुने नेपालमा अहिलेसम्मका धेरै खेल संघले वार्षिक क्यालेन्डर, राष्ट्रिय टोलीको प्रशिक्षण र ट्रेनिङ साइकलको समेत चासो दिने गरेका छैनन् । यी विषय मन्त्री चौधरीका पनि प्राथमिकतका विषय बनेनन् ।

मन्त्री चौधरी मात्र होइन निर्वतमान मन्त्री श्रेष्ठले सञ्चार क्षेत्रमा धेरै प्रचारमा आए पनि यस विषयमा खासै चासो दिएको पाइएन । बाग्मती प्रदेश तेक्वान्दो संघमा लामो समय उपाध्यक्ष रहेका श्रेष्ठले आफू मन्त्री भए पछि तेक्वान्दो खेलको विवाद समाधान गर्नेमा भन्दा बढी तेक्वान्दो नेृतत्वको विरोधी खेमामा अनुदार रहने काममा आफूलाई सक्रिय राखे ।

७ मार्च २०२३ मा काठमाडौंमा भएको एसियन ट्रयाक एन्ड फिल्डमा नेपाली खेलाडीले जितेको पदक वापत राज्यबाट घोषित पुरस्कार रकम दिलाउन मन्त्री श्रेष्ठको कुनै भुमिका रहेन । यो प्रसंग राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को खेलकुद विभागको बैठकमा समेत चर्चाको विषय बनेको थियो ।

श्रेष्ठ मन्त्री भइरहेको समयमा नेपालमा कुश्ती र उसुलगायत संघको आन्तरिक विवाद भए पनि त्यसलाई समाधान गर्न समेत मन्त्री श्रेष्ठले कुनै चासो दिएनन् । यसअघि मन्त्री रहेका डिगबहादुर लिम्बूले सो विवाद समाधान गर्न चासो दिएका थिए ।

त्यसो त नेपाली खेलकुदमा वरिष्ठताका आधारमा काम र जिम्मेवारी दिने प्रचलन हटेपछि यसमा सर्वत्र गुनासो नसुनिएको होइन । थुप्रै जिम्मेवारी दिँदा सदस्य सचिव टंकलाल घिसिङले वरिष्ठताको आधारलाई बेवास्ता गरेको आरोप लागेको थियो । यसमा समेत मन्त्री श्रेष्ठको कुनै चासो देखिएन । मन्त्री श्रेष्ठको ४ महिने कार्यकाल स्टन्टबाजीमै बितेको थियो ।

श्रेष्ठ मन्त्री भइरहँदा नेपाली खेलकुद ३ ध्रुवमा विभाजित थियो । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्बीचको ध्रुवीकरणमा प्रदेश खेलकुदको सदस्यसचिवहरूको अर्को ध्रुवको तनावले खेलकुद थिचिएको थियो । मन्त्री श्रेष्ठले आफूअनुकल शक्ति अभ्यास गरेको आरोपसमेत धेरैको छ । अहिले नेपालमा तेक्वान्दो, ब्याडमिन्टन, उसु, कुस्ती र ह्यान्डबल संघभित्र चरम विवाद छ । यसमा मन्त्री चौधरीको भूमिका कस्तो हुन्छ भन्ने प्रतीक्षाकै विषय बनेको छ ।

प्रतिक्रिया