आठबिसकोट । खुल्ला ठाउँमा अस्पतालबाट निस्केका फोहोर जलाउँदा मानव स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको छ । मानव जीवनमा सबैभन्दा ठूलो स्वास्थ्य हो । जन्मदेखि मृत्युसम्म मान्छे कुनै न कुनै समयमा अस्पताल पुग्नैपर्छ । जीवनको संरक्षणका रूपमा रहेको स्वास्थ्य संस्था संवेदनशील नभए आमनागरिकको अस्पतालप्रतिको भरोसा पनि टुट्छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको नगर अस्पतालबाट दैनिक निस्कने फोहोर खुल्ला ठाउँमा जलाउँदा यहाँका नागरिकको स्वास्थ्यमा खेलवाड गरिएको छ । अस्पतालले दिनहँु अस्पताल छेउमै फोहोर जलाउँदा एकातिर सहर कुरुप बन्नुका साथै अर्कोतिर मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । स्वास्थ्यजन्य फोहोर जलाउँदा अस्पताल आसपासका क्षेत्रमा दुर्गन्धित बन्नुका साथै सरुवा रोग फैलने सक्ने खतरा बढ्दै गएको छ ।
विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार स्वास्थ्यजन्य फोहोर मध्ये ९२ प्रतिशत जोखिमयुक्त हुन्छन् । स्वास्थ्यजन्य फोहोरलाई प्रशोधित गरेर १० प्रतिशत जोखिममा झारेर मात्रै अस्पताल बाहिर पठाउनुपर्छ । अस्पतालभित्र अस्पतालजन्य फोहोर संशोधन वा भण्डारण केन्द्र खोलेर फोहोर व्यवस्थापन गर्नुपर्नेमा सिधै अस्पतालको प्रांगणमा फोहोर जलाउँदा नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको महसुस भएको छ । फोहोर संकलन र व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर समस्या निम्त्यिाएको छ । खुल्ला ठाउँमा फोहोर जलाउँदा वातावरण प्रदुषित हुनुको साथै प्लास्टिकजन्य वस्तुहरू जलाउँदा पर्यावरणमा नकरात्मक असर पर्ने गरेको छ ।
अस्पतालले लामो समयदेखि खुल्ला ठाउँमा फोहोर जलाउँदा निस्केको धँुवाले आसपासका स्थानीयलाई प्रत्यक्ष असर गरेको उनीहरूको गुनासो छ । स्थानीय भन्छन्, ‘अस्पतालमा जलाएको फोहोरबाट निस्केको धँुवा सिधै घरमा आउँछ । गन्धले बस्नसमेत कठिन हुन्छ । जलाएर बचेको फोहोर पानी पर्दा गन्ध आउने हुँदा वातावरण नै दुर्गन्धित बन्दै गएको छ ।’
अस्पतालबाट निस्कने फोहोरलाई व्यवस्थापनमा सचेतना जगाउन आवश्यक दखिन्छ । एक प्रतिवेदनअनुसार नेपालका ५ प्रतिशत मात्रै अस्पतालले अस्पतालमै फोहोर वर्गीकरण गरेर मात्रै संकलन र व्यवस्थापन गर्छन् । प्रतिवेदनअनुसार फोहोर व्यवस्थापनमा नेपालको अवस्था दयनीय छ ।
लाखौँमा बनेको डम्पिङसाइड प्रयोगविहीन
आठबिसकोट नगरपालिकाले लाखौँ रुपैयाँ खर्चेर बनाएको डम्पिङसाइड प्रयोग नगरेर फोहोर खुल्ला ठाउँमा जलाउँदै आइएको छ । स्थानीय गिजागाड खोलाको छेउछाउमासमेत फोहोर फाल्ने गरेको पाइन्छ । तर, पालिकाले २२ लाख १७ हजार रुपैयाँमा साइड र ३३ लाखमा रिटेनिङवालसहित ५ वर्ष पहिले नै डम्पिङसाइड निर्माण गरिसकेको छ । १३ सय १० वर्गमिटर क्षेत्रफलमा रहेको उक्त साइड नजिकै स्कुल भएकाले फोहोर व्यवस्थापनमा समस्या देखिएको बताइन्छ । फोहोर जलाउँदा निस्केको धुँवाले बजारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् ।
रुकुम पश्चिम
प्रतिक्रिया