साउने संक्रान्तिको मौलिकता संकटमा

नेपाल सनातनदेखि नै विविध जात, समुदाय तथा संस्कृति भएका मानिसहरू मिलेर बसेको देश हो । त्यसैले नेपालमा सांस्कृतिक पर्वहरू उल्लेख्य छन् । अधिकांश सांस्कृतिक पर्वहरू जाति तथा समुदायका अलगअलग छन् । तर केही सांस्कृतिक पर्वहरू भने साझा छन् । यिनै साझा पर्वमध्येको एक हो, साउने संक्रान्ति । अर्को रोचक पक्ष के छ भने नेपालका प्रायः धार्मिक क्रियाकलाप तथा चाडपर्वहरू नेपाल संवत्को क्यालेन्डरअनुसार तिथिका आधारमा मनाइन्छ । अर्थात चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न लाग्ने समय २९ दिन भित्रका तिथिलाई आधार बनाएर मनाइन्छ । तर थोरै यस्ता चाडपर्वहरू छन्, जो पृथ्वीले सूर्यको परिक्रमाको यात्रा तय गर्दाका विभिन्न अवस्थितिका आधारमा मनाइन्छ, अर्थात विक्रम संवत्को मितिका आधारमा मनाइन्छ । त्यही सीमित पर्वमध्येको एक हो, ‘साउने संक्रान्ति ।’ यसदिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकोले साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । नेपालका सबै रैथाने जातजाति तथा समुदायले उत्तिकै महत्वका साथ मनाउने नेपालका थोरै चाडपर्व मध्येको एक हो, साउने संक्रान्ति । तर यो पर्वको नाम भने जात, जाति तथा भूगोलअनुसार पृथक पृथक छ । खस समुदायले साउने संक्रान्ति भन्ने गर्छ । नेवार समुदायले साउने संक्रान्ति कुन्हु भन्ने गर्छ । किराँत समुदायले सिसेक्पा तङ्नाम भन्ने गर्छ । मगर समुदायले राँक्या पर्व भन्ने गर्छ । थारू समुदायले गुरिया पर्व भन्ने गर्छ । तमु–गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिका तथा नामले साउने संक्रान्ति मनाउने गर्दछन् ।

साउने संक्रान्तिका दिन नेपालका सबै जाति तथा समुदायले आ–आफ्ना इष्ट देवी देवताको पूर्जा अर्चाना आ–आफ्नै विधिअनुसार गर्छन् । तर आ–आफ्नो भेगमा पाइने प्राकृतिका विभिन्न गुणकारी वनस्पतीहरूको पूजा गर्ने प्रचलनमा भने एक रूपता छ । जसका कारण कुन बनस्पतिको नाम के हो ? उपयोगिता के को हो ? भन्ने ज्ञान पुस्तान्तरण हुँदै आएको छ । यसैगरी मीठो मसिनो खाने तथा मनोरन्जन गर्ने शैलीमा पनि करिब करिब एक रूपता पाइन्छ । खासगरी मधेसी समुदायमा बाहेक नेपालका प्रायः सबै समुदायमा साउने संक्रान्तिका दिन आफ्नो गच्छेअनुसार माछा– मासुका परिकार पाक्ने गर्छन् । आ–आफ्नो संस्कारअनुसार कहीँ राँगा काटिन्छ, कहीँ संगुर काटिन्छ, कहीँ खसी बोका, कहीँ हाँस कुखुरा काटिन्छ । सबै समुदायको साझा चाड भएकै कारण होला, राज्यले पनि साउने संक्रान्तिलाई आर्थिक वर्ष सुरुआतको आधार बनाउँदै आएको छ ।

साउने संक्रान्ति नेपालीहरूको मात्रै नभएर विश्वका सबै हिन्दू–बौद्ध–किराँती तथा प्रकृति पूजकहरूले मनाउने पर्व हो । नेपालमा भने प्राकृतिसँग जोडेर मौलिक शैलीमा मनाउने गरिएको छ । तर बढ्दो सहरीकरण, तीव्र बसाइँसराइ, सांस्कृत अतिक्रमण लगायतका कारण साउने संक्रान्ति मनाउने नेपाली मौलिक शैली संकटमा पर्दै गएको छ । आधाभन्दा बढी जनसंख्या सहरमा छन् । यो क्रम बढ्दो छ । सहरी क्षेत्रमा वनस्पतिहरूको संकलन तथा पूजाआजा अव्यावहारिक हुनु स्वभाविकै हो । भौगोलिक विविधताअनुसार वनस्पतिहरूको पनि विविधता हुन्छ । पहाडबाट तराईमा बसाइँसराइ गर्नेहरूले आफ्ना पुर्खाहरूले गर्दै आएका वनस्पतिहरूको पूजा गर्न कसरी पाउनु ? नाम नै बिर्सिइसके ।

यसैगरी साउनभरी माछा–मासु नखाने भारतीय शैली नेपालका खसआर्य समुदायभित्र बिस्तारै प्रवेश गरिरहेको छ । साउनभरी हरियो चुरा तथा पहिरन लगाउनुपर्ने भन्दै भारतीय व्यापारीहरूले गरेको प्रचार नेपालका कुना कन्दराका गाउँसम्म पुुगिसकेको छ । यस वापत ठूलो रकम बिदेसिन थालिसकेको छ । पहिचान भनेकै मौलिकता हो । विदेशीको नक्कल गर्न थालेपछि मौलिकता हराउँदै जान्छ । पहिचान पनि लोप हुन थाल्छ । यसतर्फ हामी सबै नेपाली एक ढिक्काका साथ सजग हुनु जरुरी छ ।

प्रतिक्रिया