वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारको आक्रमणमा आफू मारिने सम्भावनाबाट उम्केको बताएका छन् ।
रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, ‘सायद म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।’
उनले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको यो अति वास्तविक अनुभव भएको पत्रिकाले उल्लेख गरेको छ । शनिबार एक चुनावी र्यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको थियो भने एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।
ट्रम्पले र्यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए । उनले भने, ‘घटनापछि धेरैले भनिरहेका छन् कि भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।’ गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल सफाया गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे ।
उनले भने, ‘उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको मलाई बताइएको छ ।’ ‘उनीहरूले उत्कृष्ट काम गरे,’ उनले भने, ‘यो हामी सबैका लागि अवास्तविक छ ।’
सिक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर भीडबाट निकाल्दै गर्दा मुठ्ठी उठाएको तस्विर संसारभरका पत्रिकाको फ्रन्ट पेजमा छापिएको थियो । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
‘धेरै मानिसहरूले यो आफूले देखेको सबैभन्दा प्रतिष्ठित तस्विर भएको बताउँछन्,’ पूर्वराष्ट्रपतिले न्यूयोर्क पोस्टसँग भने, ‘उनीहरूले सही भनेका हुन्, आक्रमणबाट म बाँच्न सफल भएको छु, सामान्यतया पत्रपत्रिकामा यस्तो चर्चा एक जीवित व्यक्तिका लागि विरलै हुने गर्छ ।’– रासस, एएफपी
प्रतिक्रिया