अमेरिकी गुप्तचरको क्षमतामाथि प्रश्नचिह्न

राष्ट्रपति उम्मेदवार ट्रम्पमाथि गोली प्रहार

Republican presidential candidate former President Donald Trump is helped off the stage by U.S. Secret Service agents at a campaign event in Butler, Pa., on Saturday, July 13, 2024. (AP Photo/Gene J. Puskar)

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा पूर्वराष्ट्रपतिमाथि भएको गोली प्रहारमा उनी सामान्य घाइते भएकोे जनाइएको छ ।

गोली लागेपछि ट्रम्प भुइँमा बसेका थिए । गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए । ट्रम्पको कानमा गोली लागेको बताइएको छ । उनको कान र अनुहारमा रगत लतपतिएको देख्न सकिन्छ । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको थियो । उनी मञ्चमा बोल्दै गर्दा ठुलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रम्पको कानमा लागेर गएको गोली लागी १ दर्शकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जबाफी गोली प्रहारमा आक्रमणकारीको पनि मृत्यु भएको छ । ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गरेका छन् ।

ट्रम्प निर्धारित समयभन्दा १ घन्टा ढिला गरी चुनावी सभामा पुगेका थिए । उनले आप्रवासीको विषयमा आफ्नो कुरा राखिरहेकै समयमा गोली चलेको थियो । घटनापछि संसद्को अनुमगन समितिले एफबिआईकी प्रमुख किम्बर्ली चिट्लीलाई फिर्ता बोलाएको छ । २२ जुलाईमा उनको सुनुवाइसमेत हुने भएको छ । यसअघि अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनमाथि पनि गोली प्रहार भए पनि उनी बचेका थिए ।

ट्रम्पका सहयात्री र सहयोगी निगेल फरागले सो घटना अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानबाजीको उपज भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले बाँकी रहेका चुनावी सभामा सम्बोधन गर्ने विषयमा भने फरागले नै शंका व्यक्त गरेका छन् । ५ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदै छ ।

राष्ट्रपति जो बाइडेनले घटनाप्रति निन्दा गर्दै ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार व्यक्त गरेका छन् । गोलीकाण्डबारे त्यहाँको गुप्तचर सेवाले विज्ञप्ति जारी गरेको छ । आक्रमणकारीले ‘कार्यक्रम स्थलबाहिर एक उच्च स्थानबाट’ मञ्चतर्फ धेरै राउन्ड गोली प्रहार गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उसले (संदिग्ध आक्रमणकारी) दर्शकहरू मध्ये १ व्यक्तिको हत्या गरेको छ र २ जनालाई गम्भीर रूपमा घाइते भएका छन् । एजेन्टहरूले आक्रमणकारीलाई घटनास्थलमै मारेका छन् ।’ अमेरिकी गुप्तचर संस्था एफबिआईका अनुसार गोली प्रहार गर्ने २० वर्षीय थोमस म्याथ्यु क्रक्स मारिएका हुन् । र्याली आयोजना भएको स्थानबाट १ घन्टाको दुरीमा रहेको पेन्सिलभानियाकै बेथल पार्कमा ती युवाको बसोबास थियो ।

सञ्चारमाध्यममा जनाइएअनुसार उनले १७ वर्षको उमेरमा चन्दा उठाउने काम गर्थे । सो चन्दाबाट उनले ‘एक्ट ब्यु’ भन्ने संस्थाको स्थापना गरेका थिए । उनले अमेरिकामा वामपन्थी झुकाव राख्ने शक्तिको स्थापना चाहन्थे । बेथल हाईस्कुलबाट सन् २०२२ मा ग्राजुएट उनले गणितमा उत्कृष्ट भएबापत ५०० अमेरिकी डलर पुरस्कारसमेत पाएका थिए ।

उनका बाबु ५३ वर्षीय म्याथ्यु क्रोकले घटनाको सबै तथ्य नबुझी केही प्रतिक्रिया नदिने बताएका छन् ।

प्रतिक्रिया