बर्खाका कारण मेलम्चीको पानी बन्द गरिएसँगै ३ सातादेखि राजधानी काठमाडौँमा खानेपानीको समस्या सुरु भएको छ । मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आपूर्ति हुँदै आएको थियो । काठमाडौँ उपत्यकाका लागि दैनिक कम्तिमा ३० करोड लिटर खानेपानीको अवश्यकता पर्छ । तर, अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक १० करोड लिटर पानी उपलव्ध गराउँदै आएको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलका अनुसार भूमिगत स्रोतबाट ४ करोड र सतह स्रोतबाट ६ करोड गरी दैनिक १० करोड लिटर पानी संकलन गरेर ६ देखि १२ दिनको अन्तरालमा काठमाडौं उपत्यकामा पानी वितरण गरिएको छ ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार मेलम्ची खानेपानी आयोजना निर्माणका लागि अहिलेसम्म ६७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर मेलम्चीको पानी वर्षको ३–४ महिना मात्रै काठमाडौँ आउने गरेको छ । अहिलेसम्म स्थायी बाँध निर्माण नगरिएका कारण बर्खा लाग्नासाथ पानीको आपूर्ति बन्द गरिन्छ । हिउँद लागेपछि करोडौँ रुपैयाँ खर्च गरी ३–४ महिना लगाएर अस्थायी बाँध निर्माण गरिन्छ । अनि चैतको अन्तिमदेखि असारको पहिलो सातासम्म पानी आपूर्ति हुन्छ । यो चक्र विगत ४–५ वर्षदेखि चलिरहेको छ । २०५६ सालदेखि मेलम्ची खानेपानी आयोजना निर्माणको काम थालिएको हो । २१ वर्षपछि २०७७ चैतमा काठमाडौँ उपत्यकामा पानी झारियो, तर स्थायी रूपमा आपूर्ति हुन सकिरहेको छैन ।
मेलम्चीको पानी काठमाडौँ उपत्यकामा कहिलेदेखि स्थायीरूपमा आपूर्ति होला त ? भन्ने प्रश्नको उत्तर अनिश्चित मात्रै छैन, निकै कहालीलाग्दो छ । बाँध तथा पानीको मुहान स्थल (हेडबक्स) छनौट नै त्रुटीपूर्ण भएको भन्दै स्थानान्तरणको प्रयास भएको छ । अर्बौं रुपैयाँ खर्च गरी हेडबक्स निर्माण गरिएको थियो भने बाँध निर्माणको काम पनि ४ वर्षअघि नै आधाजसो सकिएको थियो । तर, अहिले हेडबक्स तथा बाँध निर्माणस्थल छनौट गर्दा गल्ती भएको निश्कर्ष निकाल्दै ८०० मिटर उत्तरतर्फ सार्न प्रस्ताव गरिएको छ । यसका लागि करिब ५ अर्ब रुपैंया खर्च हुने जनाइएको छ । काम थालनी भएको मितिले ३ वर्षभित्र सम्पन्न गरिने भनिएको छ, तर कहिलेदेखि काम सुरु हुन्छ त्यसको अत्तोपत्तो छैन । पूर्वनिर्धारितभन्दा ३ गुणा बढी समय लाग्ने त नेपालको रोग नै हो । त्यसैले अझै १० वर्ष मेलम्चीको पानी स्थायी रूपमा काठमाडौँ नआउने संभावना देखिएको छ ।
एकातिर मेलम्ची आयोजना निर्माणका लागि राज्यको ढुकुटी तथा विदेशी ऋणबाट ६७ अर्ब रुपैयाँ खर्च भइसक्नु, अर्कातिर काठमाडौँ उपत्यकाका जनताले हरेक वर्ष अर्बौं रुपैयाँको पानी किन्नुपर्ने विडम्वनाले निरन्तरता पाइरहनु भनेको सानो कुरा होइन । निर्माण थालिएको २५ वर्ष बितिसक्दा पनि सम्पन्न नहुनु आफैँमा ठूलो विडम्वना हो । त्यसमाथि पनि हेडबक्स र बाँध निर्माणस्थलको छनौट गर्दा नै त्रुटी भएछ भन्दै थप ५ अर्ब रुपैयाँ खर्च गर्न खोज्नु अर्को विडम्वना हो । हेडबक्स तथा बाँध निर्माण स्थलको छनौट गलत ठाउँमा गर्नेहरू माथि छानबिन तथा कारबाही गर्ने कि नगर्ने ? यति ठूलो खेलवाड गर्न पाइन्छ ? यो प्रकरणमा ऋणदाता एडिबीका कर्मचारीहरूको समेत मिलिभगत छ कि भन्ने आशंका उत्पन्न भएको छ ।
किनकी डिपिआरको गहन अध्ययन नगरी एडिबीले ऋण दिँदैन । यसैगरी परामर्शदाताका लागि पनि ठूलो रकम खर्च गरिएको हुन्छ । डिपिआरको गहन अध्यायन गर्ने जिम्मेवारी परामर्श दाताको पनि हो । मेलम्चीकै हेडबक्स र बाँध स्थानान्तरण गर्ने प्रयास भइरहेका बेला यांग्री र लार्के खोलाको पानी मिसाउने कुरा त वीरबलको खिचडी हुने निश्चितजस्तै भएको छ ।
प्रतिक्रिया