जनसंख्या व्यवस्थापनमा चुनौती

३५औँ विश्व जनसंख्या दिवसको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा विश्वको जनसंख्या ८ अर्ब पुगेको उल्लेख छ । आजभन्दा ३५ वर्षअघि जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसर पारेर संयुक्त राष्ट्र संघले ‘पपुलेसन समिट’ गरेको थियो । त्यही दिनलाई आधार मानेर हरेक जुलाई ११ तारिखमा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । खासगरी जनसंख्याको व्यवस्थापनसँग यो दिवस जोडिएको छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या प्रतिवेदनअनुसार पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता १ अर्ब जनसंख्या पुग्न करिब ३ लाख वर्ष लागेको थियो । तर पछिल्लो ३५ वर्षको अवधिमा ३ अर्ब जनसंख्या थपिएको छ । पछिल्ला कालखण्डमा जनसंख्याको वृद्धि तीव्ररूपमा हुँदै गएको छ र जनसंख्यावृद्धि नियन्त्रणका उपाय पनि त्यति नै अपनाउँदै गएको देखिन्छ ।

जनसंख्या वृद्धिलाई नियन्त्रण नगरे हरेक २५ वर्षमा दोब्बर हुने र पृथ्वीमा उपलव्ध स्रोतले नधान्ने प्रक्षेपण जनसंख्याविद्हरूले आजभन्दा २५० वर्षअघि नै गरेका थिए । यस्तो अवस्थामा मानव मानवबीच द्वन्द्व हुने, विभिन्न रोग तथा महामारीको प्रकोप बढ्ने सिद्धान्त बेलायतका जनसंख्याविद् माल्थसले प्रतिपादन गरेका थिए ।

उनका अनुसार जनसंख्या र उसलाई आवश्यक पर्ने बस्तुको सन्तुलन प्रकृतिले मिलाउँछ । प्राकृतिक स्रोत माथिको कब्जाका लागि विश्व इतिहासका विभिन्न कालखण्डमा कैयौँ लडाइँहरू भएका छन्, लडाइँका क्रममा करोडौँ मानिसहरू मारिएका छन् ।

खासगरी द्वितीय विश्वयुद्ध अन्त्यको बेलासम्म जनसंख्या वृद्धि विश्वका लागि ठूलो चुनौती बनेको थियो । त्यस यता भने कृत्रिम प्रविधिद्वारा जनसंख्यावृद्धि नियन्त्रणका विविध उपाय पत्ता लगाउन वैज्ञानिकहरू सफल भए । साथै उत्पादनवृद्धिका विविध प्रविधि आविष्कार गर्न पनि वैज्ञानिकहरू सफल भए । उदाहरणका लागि द्वितीय विश्वयुद्धका बेला चीनको जनसंख्या अहिलेको भन्दा आधा थियो, तर भोकमरीले मान्छे मर्थे । अहिले खाद्यान्न निर्यात गर्न चीन सक्षम छ ।

जनता धनी बन्दै गएका छन् । त्यतिबेला चीनमा प्रतिहेक्टर वार्षिक २ मेट्रिकटन धान उत्पादन हुन्थ्यो, अहिले २० मेट्रिकटन उन्पादन हुन्छ । चीनको यो उदाहरण विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतका सन्दर्भमा पनि लागू हुन्छ । नेपालकै सन्दर्भमा भन्ने हो भने राणाकालको अन्त्यतिर जनसंख्या १ अर्बको हाराहारीमा थियो, तर आधाभन्दा बढी जनसंख्याले पेटभरी खान पाउने अवस्था थिएन, ८० प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि थिए । तर, अहिले नेपालको जनसंख्या करिब ३ करोड पुगेको छ । जनताको त्यो बेलाको जीवनस्तर र अहिलेको जीवनस्तरमा जमिन आसमानको फरक छ ।

जनसंख्याशास्त्र पनि एउटा विज्ञान जस्तै हो । शान्ति, सचेतना, सीप र मानवता छैन भने थोरै जनसंख्या पनि घाँडो सावित हुन्छ । चेतना, सीप र मानवताको विकास भएको छ भनेजति धेरै जनसंख्या भयो उति बढी अवसर प्राप्त हुन्छ । ३५औँ विश्व जनसंख्या दिवस मनाइरहँदा हाम्रो देश नेपालले केही यथार्थहरूको हेक्का राख्नु जरुरी देखिएको छ । पहिलो कुरा त बसाइँसराइका कारण जनसंख्याको भौगोलिक सन्तुलन पुरै खलबलिएको छ । यो क्रम नियन्त्रण गर्न नसके पछुताउनुबाहेक केही विकल्प रहन्न ।

दोस्रो कुरा शिक्षित तथा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो छ । एक जना व्यक्तिलाई १२ कक्षासम्मको शिक्षा दिँदा राज्यबाट करिब १५ लाख रुपैयाँ खर्च हुने गरेको तथ्यांक छ । तर, त्यो जनशक्ति आफ्नो देशका लागि नभएर अर्कै देशका लागि उपयोग हुने गरेको छ । तेस्रो कुरा जीवनयापन तथा शिक्षादीक्षा ज्यादै महँगो भएका कारण सन्तान जन्माउने क्रम ह्वात्तै घटेको छ । यो क्रमले निरन्तरता पायो भने अबको २० वर्षपछि जनसंख्या घट्दै जाने र देश बुढाबुढीहरूले भरिने संभावनालाई कत्ति पनि नजरअन्दाज गर्न मिल्दैन ।

प्रतिक्रिया