मुगु । नेपाल प्रहरीले मुगुस्थित डोल्फु गाउँबाट लुटिएका थप बहुमूल्य सामानहरु बरामद गरेको छ । गत जेठ १२ गते लुटेरा समूहले अत्याधुनिक हतिहार देखाएर डोल्फु गाउँका २४ घरहरू र एक सार्वजनिक गुम्बाबाट नगद, सुन, चाँदी, मुर्ति, बहुमूल्य सरसामान, गहना र यार्सागुम्बा लुटेर लगेका थिए ।
लुटेरा समूहमा संलग्न ८ जनामध्य प्रहरीले तीन जनालाई एक महिनापछि पक्राउ गरी उनीहरुबाट बरामद भएका हतियार, बहुमूल्य सामानसहित आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल रहेका थिए ।
यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ २ थान, सुनकै माडुली २ थान विक्री गरेपश्चात् जुम्ला प्रहरीले बरामद गरेको थियो । जुम्ला जिल्ला गुठिचौर गाउँपालिका– ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापालाई घटनामा प्रत्यक्ष संलग्नता रहेको प्रहरीले बताएको थियो ।
प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरुमा पुगेर यो समूहले यार्सा संकलक तथा व्यापारीहरुबाट समेत यार्सागुम्बा लुट्दै आएको थियो । डोल्फु गाउँमा लुट्न संलग्न अन्य ५ जनामध्य फरार रहेका जुम्ला गुठिचौर गाउँपालिका– ३ बस्ने धनप्रसाद भण्डारीलाई खोजतलास गर्ने क्रममा भण्डारीकै घरमा लुकाई छिपाई राखेको अवस्थामा लुटिएका थप बहुमूल्य सामानहरू २४ गते नेपाल प्रहरी जुम्ला र मुगुको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए ।
प्रनाउ थापाका अनुसार संयुक्त प्रहरी टोलीले चाँदीका सिक्काको माला २ वटा (१०९ सिक्का), चाँदीको पैसा सिक्का ७० वटा, चाँदीका सिक्काको औँठी ४ वटा, माला मोती दाना ३५ वटा, पहेँलो मुगा दाना ३० वटा, हरियो मुगा दाना ५८ वटा बरामद गरिएको छ ।
यस्तै सुनको ढुंग्रो १ दशमलव ९५७ तोला, सुनको तीन टुक्रा रिङ ० दशमलव ४९५ तोला, सुनको चेन टुक्रा ० दशमलव ५१६ तोला, चाँदीको हुक्काको टुक्रा ३ तोला, चाँदी र तामाको हुक्काको टुक्रा १ तोला, चाँदीको लकेट माला ५ थान, चाँदीको टुक्रा ६ दशमलव ९७ तोला, सानोखाले रातो मुगा ३२ दशमलव ९१० तोला, तामा तारको टुक्रा ० दशमलव १९९ तोला र ढुंगा जस्तो टुक्रा ० दशमलव ४०० तोला पनि प्रहरीले बरामद गरेको जनाएको छ ।
लुटेरा समुहले डोल्फु गाउँका २४ वटा घर र एक गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मुर्ति, रिणिमोक्क्ष माइको मुर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेर लगेको स्थानीयहरूले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएकाले अझै धेरै बहुमूल्य सामान, नगद र यार्सागुम्बा भेटाउन सकिएको छैन ।
लुटिएका बाँकी बहुमूल्य सामान, यार्सागुम्बा र फरार व्यक्तिहरुको खोजीका लागि प्रहरीले सबैतिर आफ्ना सयंत्रहरू परिचालन गरिको र छिट्टै फरार व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिने प्रनाउ विरेन्द्र थापाले विश्वास व्यक्त गरे ।
मुगु
प्रतिक्रिया