ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार चीन भ्रमणमा जाने भएकी छन् । यसअघि भारत भ्रमणमा गइसकेकी उनी सोमबार बेइजिङ यात्रामा निस्किन लागेकी हुन् । लगातार चौथोपटक सरकारको प्रमुखका रूपमा कार्यभार सम्हालेपछि उनको यो दोस्रो विदेश यात्रा हो । यसअघि शेख हसिना द्विपक्षीय वार्ताका लागि गत जुन २१–२२ मा भारत पुगेकी थिइन् ।
भारत सरकारसँग उनले रेल यातायातसमेत कैयौँ अलग–अलग मुद्दामा करिब १० सम्झौतामा हस्ताक्षर गरिन् । भारत भ्रमणको २ सातापछि उनी चीन भ्रमणमा जान लागेकी हुन् । शेख हसिनाको चीन भ्रमण बंगलादेशका लागि कूटनीतिक र आर्थिक रूपमा अहं मानिएको छ ।
समाचार अनुसार यो भ्रमणका क्रममा चीनले ठूला परियोजना सक्नका लागि अर्बौं रुपैयाँ ऋण दिन सक्नेछ । साथै यसबाट बंगलादेश सरकारलाई बजेट घाटा पूरा गर्न पनि सहयोग मिल्नेछ । पछिल्ला १५ वर्षमा चीनले बंगलादेशमा कैयौँ मेगा–प्रोजेक्टका लागि ऋण दिएको छ । यसका साथै ती परियोजना सक्न पनि चीनले अहं भूमिका निभाएको छ ।
बहुचर्चित पद्मा पुलको विशाल संरचना निर्माण र कर्णफुली सुरूङ निर्माणपछि चीन अब बंगलादेशमा तिस्ता परियोजनामा पनि जोडिँदै छ । बंगलादेशका पूर्व विदेशमन्त्री तौहिद हुसैनले बिबिसीलाई बताएअनुसार यस पूरा मामिलामा बंगलादेशलाई जति नै चीनलाई पनि लाभ पुग्दै छ । यसका अलावा, भू–राजनीतिक रणनीतिमार्फत हेर्दा चीनका लागि बंगलादेशले विशेष महत्व राख्छ ।
प्रतिक्रिया