गत बिहीबारदेखि देशभर अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो तथा नदी कटानले ठुलो समस्या उत्पन्न गरेको छ भने तराई क्षेत्रका कैयौँ बस्ती डुबानमा परेका छन् । लामो दुरीको सडक यातायात ठप्प भएको छ । शनिबार बेलुकासम्मको समाचार अनुसार देशका कुनै पनि राजमार्ग सुचारु हुन सकेका छैनन् । फाट्टफुट्टबाहेक आन्तरिक हवाई उडान पनि प्रभावित भएको छ । मलुकको सबैभन्दा ठुलो ४४६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अन्य स–साना गरी थप २०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाको उत्पादन पनि बन्द गरिएको छ । दुर्गम क्षेत्रमा सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । जसका कारण एकातिर क्षतिको एकिन विवरण आउन ढिलाइ भइरहेको छ भने अर्कातिर उद्धार तथा रहतमा कठिनाइ उत्पन्न भएको छ ।
शनिबार अबेरसम्म पनि वर्षा नरोकिएका कारण क्षति हुने क्रम अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार बेलुकासम्म बाढी पहिरोको जोखिम कायमै छ । धान रोपाइँ सुरु हुने बेलामै भएको यो वर्षाले तराईका किसानलाई भने ठुलो रहत मिलेको छ । यस पटक धान रोपाइँका लागि विगतमा जस्तो पानीको अभाव नहुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले बेलैमा सचेत गराएका कारण अविरल वर्षाका बाबजुद धेरै ठुलो मानवीय क्षति भने यतिबेलासम्म भएको छैन । खतरा उत्पन्न हुन सक्ने स्थानको किटान गर्दै मौसम विज्ञान विभागले ३ दिनअघि नै सूचना जारी गरेको थियो । यो सूचनालाई मिडियाहरूले पनि प्राथमिकताका साथ प्रसारण गरे । तर, यो सूचनासँगै राजधानी काठमाडौँ उपत्यकाका थोक व्यापारीहरूले फलफूल तथा तरकारीको मूल्य ह्वात्तै बढाएका छन् ।
शनिबार बेलुकासम्ममा तरकारी तथा फलफूलको मूल्य करिब ५० प्रतिशत वृद्धि भइसकेको छ । देशका अन्य भूभागबाट राजधानी काठमाडौँ आउने प्रायः सबै सडक ठप्प छन् । धेरै ठाउँमा पहिरोले अवरोध पु¥याएको छ । केही ठाउँमा पुल तथा कल्भर्ट बगाएको छ । अत्यावश्यकीय वस्तुहरूको आपूर्तिमा समस्या उत्पन्न भएको मौका व्यापारीहरूले उठाउन थालिसकेका छन् । अवरुद्ध सडक यथाशीघ्र खुलाउने कामलाई सरकारले प्राथमिकता दिनु जरुरी छ । उद्धार र राहतका लागि मात्रै होइन, आपूर्तिको व्यवस्था सहज बनाउन पनि अवरुद्ध सडक यथाशीघ्र खुलाउनु जरुरी छ ।
बाढीको समस्याका दृष्टिले राजधानी काठमाडौँ उपत्यका निकै सुरक्षित स्थल मानिन्थ्यो । तर, विगत केही दशकयता मनसुनी सिजनमा काठमाडौँ उपत्यकामा समेत बाढीले ठुलो धनजनको क्षति पु¥याउने गरेको छ । यो क्रम हरेक वर्ष बढ्दो छ । यसको एक मात्रै कारण भनेको उपत्यकाभित्रका खोला तथा नदी अतिक्रमण गरेर सडक तथा भवन निर्माण गरिनु हो । वर्षायामको बहाव अवरुद्ध हुने गरी खोला तथा नदीलाई साँघुरो पारिएका कारण सहरका घरभित्र पानी पस्न थालेको हो भन्ने कुरामा कुनै शंका छैन । आफ्नो साँध सिमाना अतिक्रमण गर्नेविरुद्ध खोला तथा नदीहरूले मुद्दा हाल्दैनन्, सीधै दण्ड दिन्छन् भन्ने यथार्थ सबैले बुझ्नु जरुरी छ । मनसुन हाम्रा लागि बरदान हो । मनसुनकै कारण हाम्रो देशमा जीवन सम्भव भएको हो । हाम्रो देशमा वर्षभरलाई पुग्ने पानीको आपूर्ति असारदेखि असोजसम्म ३ महिना पर्ने अकासे पानीले गर्छ । त्यसैले मनसुनलाई अकासे नहर पनि भन्ने गरिन्छ । तर, मनसुनी वर्षाको थप सदुपयोग गर्न त परै जाओस् दुरुपयोग बढी हुने गरेको छ ।
विज्ञान तथा प्रविधिको यो युगमा मनसुनी वर्षालाई सदुपयोग गर्न सकिने सम्भावना धेरै छन् । मनसुनको पानी संकलनका लागि सम्भाव्य ठाउँमा बाँध निर्माण गर्न सकियो भने एकातिर बाढी नियन्त्रण हुन्छ, अर्कातिर हिउँदमा त्यो पानी प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि यस पटक उपत्यकाका अन्य खोलाको तुलनामा बाग्मती नदीको मनोहरा दोभानसम्मको क्षेत्रमा बाढीको समस्या देखिएको छैन । बाग्मती नदीको जलाधार क्षेत्रमा निर्माण गरिएको ‘धाप ड्याम्प’का कारण एकातिर बाढी नियन्त्रण भएको छ ।
अर्कातिर मेलम्चीको पानी नआएका बेला यही ड्याम्पबाट दैनिक ५ करोड लिटर खानेपानी आपूर्ति गर्ने गरिएको छ । उपत्यकाका अन्य नदी तथा खोलाको मुहान तथा जलाधार क्षेत्रका उपयुक्त ठाउँमा यसरी नै वर्षाको पानी संकलन गर्नेतर्फ किन अघि नबढ्ने ?
प्रतिक्रिया