पर्यटक आगमनमा सामान्य सुधार

यस वर्षको जुन महिनामा ७६ हजार ७३६ जना विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्षको जुन महिनाको तुलनामा १० प्रतिशत बढी हो । सन् २०२३ को जुन महिनामा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२२ को जुन महिनामा ४६ हजार ९५७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२२ को तुलनामा सन् २०२३ मा उल्लेख्य सुधार भए पनि २०२४ मा सामान्य सुधार भएको छ । अघिल्लो वर्षको तुलनमा २०२४ को जुन महिनामा भारतीय पर्यटकको आगमन घटेको छ । अघिल्लो वर्षको जुन महिनामा भारतबाट ३८ हजार ८४५ पर्यटक भित्रिएका थिए, तर यस वर्षको जुन महिनामा ३७ हजार ८३५ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन् ।

गर्मी सिजन भनेको युरोप तथा अमेरिकी पर्यटकहरूका लागि ‘अफ सिजन’ हो, तर भारतीय पर्यटकका लागि भने सिजन हो । गर्मी छल्नकै निम्ति यो मौसममा भारतीय पर्यटकहरू नेपाल आउने गर्छन् । खासगरी जेठदेखि असोजसम्म नेपालको पर्यटन व्यवसाय धानिने भनकै भारतीय पर्यटकहरूका कारण हो । तर, अपेक्षित रूपमा भारतीय पर्यटकको संख्या वृद्धि हुन सकिरहेको छैन । १ महिनाको अवधिमा करिब ७७ हजार विदेशी पर्यटक नेपाल भित्रिएकोमा एउटै देश भारतबाट करिव ३७ हजार पर्यटक आउनु ठुलो कुरा हो कि भन्ने धेरैलाई लाग्छ । तर भारतको जनसंख्या धेरै ठूलो छ । हरेक वर्ष १० करोड भारतीयहरू पर्यटकका रूपमा विभिन्न देश घुम्न जाने गरेको तथ्यांक छ । जसमध्ये सन् २०२३ मा करिब ४ लाख भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

विशाल जनसंख्या भएका चीन र भारतको बीचमा रहेका कारण पनि नेपालमा अथाह पर्यटकीय संभावना रहेको विश्लेषण गर्ने गरिन्छ । तर खुला सिमाना, धार्मिक तीर्थस्थल लगायतका कारण भारतीय केही भारतीय पर्यटकहरू आए पनि चिनियाँ पर्यटकहरूको आगमन निकै घटेको छ । कोरोनाकालभन्दा पहिले वार्षिक करिब २ लाख चिनियाँहरू नेपाल भ्रमणमा आउने गरेका थिए । तर, कोरोना समाप्त भएको ३ वर्ष बित्न लाग्दासमेत चिनियाँ पर्यटकको आगमन पूर्ववत अवस्थामा पुग्न सकिरहेको छैन ।

जुन महिनामा चीनबाट जम्मा ७ हजार ४९४ जना पर्यटक नेपाल आएका छन् । सन् २०२३ को तुलनामा भने यो संख्या उल्लेख्य हो । वार्षिक करिब १६ करोड चिनियाँहरू पर्यटकका रूपमा विदेश भ्रमणमा निस्कने गरेको तथ्यांक छ । तर, नेपालमा ज्यादै थोरै मात्र आउने गरेका छन् । विदेश भ्रमणमा जाने चिनियाँ र भारतीय पर्यटकमध्ये एक प्रतिशत मात्रै आउने हो भने पनि नेपालको पर्यटन व्यवसायले काँचुली फेर्न सक्ने अवस्था छ ।

नेपालको पर्यटन उद्योग फस्टाउनका लागि भारतीय र चिनियाँ पर्यटकहरूलाई नै केन्द्रमा राख्नुपर्ने सुझाव पर्यटन व्यवसायीहरूले दिँदै आएको धेरै पहिलेदेखि नै हो । तर, सरकारी स्तरमा खासै पहल भएको छैन । सबैभन्दा धेरै भारतीय पर्यटक आउने पोखरामा हो । तर, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई भारतीय सहरसँग जोड्नका लागि नेपाल सरकारको पहल सफल हुन सकिरहेको छैन । यसका लागि प्रर्याप्त पहल नभएको हो कि ? भन्ने आशंका छ ।

यसैगरी नेपालमा ठूला भारु नोट चलाउन समस्या तथा अनलाइनमार्फत रकम भुक्तानीको समस्या लगायतका कारण भारतीय पर्यटकको संख्या अपेक्षित रूपमा बढ्न नसकेको हो । चिनियाँ पर्यटकका सन्दर्भमा पनि सरकारको पहल नपुगेकै हो । सामान्यतया आफ्ना देशका नागरिकहरू कुन कुन देशको भ्रमणमा जाने ? भन्ने कुराको तय चिनियाँ सरकारले नै गर्छ । यसैगरी चीन र नेपालबीच हवाई उडान प्रर्याप्त नभएको गुनासो एकातिर छ भने अर्कातिर हवाई भाडा पनि उत्तिकै महँगो भएको पर्यटन व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया