मधेश ब्युरो । नेपाल साहित्यिक पत्रकार संघको १८औँ स्थापना दिवस रौतहटमा पनि मनाइएको छ । संघका मधेस प्रदेश संयोजक सञ्जय साह मित्रको अध्यक्षतामा रौतहटको गरुडामा बिहीबार वार्षिकोत्सव मनाइएको हो ।
मधेस प्रदेशमा साहित्यिक पत्रिकाको अवस्था तथा बज्जिका भाषाको साहित्यिक पत्रकारिता विषयमा अन्तरक्रिया गरिएको छ ।
मधेस प्रदेशबाट नेपाली भाषाका २ र बज्जिका भाषाका १ गरी ३ ओटा साहित्यिक पत्रिका नियमित रूपले प्रकाशन भइरहेको जानकारी गराइएको छ । सर्लाहीको लालबन्दीबाट गोलसिमल साहित्यिक मासिक, सर्लाहीकै मलंगवाबाट बज्जी साहित्यिक त्रैमासिक र बारामा दर्ता भई काठमाडौँबाट नवप्रज्ञापन साहित्यिक त्रैमासिक नियमित रूपमा प्रकाशित भइरहेको अन्तरक्रियामा जानकारी गराइएको छ । पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिराहा र सप्तरीबाट हाल नियमित रूपमा साहित्यिक पत्रिका प्रकाशन भइरहेको बारे नबुझिएको वा प्रकाशन भइरहेको भए पनि रौतहटका साहित्यिक पाठकसम्म नआइरहेको जानकारी साटासाट गरिएको छ । रौतहटबाट बज्जिकार्पण साहित्यिक पत्रिका पनि अनियमित रूपमा प्रकाशन भइरहेको जानकारी गराइएको छ ।
कार्यक्रममा बज्जी साहित्यिक त्रैमासिकका व्यवस्थापक तथा बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, बज्जिकार्पण साहित्यिक पत्रिकाकी सम्पादक तथा साहित्यकार रेणु गुप्ता, साहित्यिक स्तम्भकार रामअधार पासवान, बज्जिकार्पण साहित्यिक पत्रिकाका पूर्व विदेश संयोजक अनिलकुमार निधि तथा बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष र सौर्य राष्ट्रिय दैनिकका मधेस प्रदेश ब्युरो प्रमुख आरके श्रीवास्तवले साहित्यिक पत्रकारिताको विभिन्न पक्षमाथि प्रकाश पारेका छन् ।
प्रतिक्रिया