सर्प पाल्ने नाममा मधेसका तत्कालीन अर्थ मन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

जनकपुरधाम । सर्लाहीको लालबन्दीमा रहेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादवसहित ५ जना भ्रष्टाचारी ठहर भएका छन् । २ जनाले भने सफाइ पाएका छन् ।

प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् । लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका हुन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार फैसला सुनाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रूपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो ।

तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असोज २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले यो मुद्दामा ५ जनालाई दोषी ठहर गरे पनि सजाय निर्धारण भने गरेको छैन । सजाय निर्धारणका लागि २५ असारमा इजलास बस्ने जनाएको छ ।

प्रतिक्रिया