नेपालमा हरेक वर्ष ७ देखि १० प्रतिशतका दरले पेट्रोलियम आयात वृद्धी हुने गथ्र्यो । तर, गत वर्ष पेट्रोलियम इन्धनको आयात अघिल्लो वर्षको तुलनमा करिब ४ प्रतिशत घट्यो । इन्धन आयात घट्नाको कारणबारे विज्ञहरूले २ वटा तर्क राखेका थिए । एउटा तर्क थियो, ‘विद्युतीय सवारी साधनको वृद्धि तथा खाना पकाउनका लागि विद्युत् प्रयोगको प्रचलनमा वृद्धि ।’ दोस्रो तर्क थियो, ‘आर्थिक मन्दीका कारण उपभोक्ताको क्रय शक्ति कम हुनु तथा विकास निर्माणका काममा कमी आउनु ।’ तर गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलियम इन्धनको आयत ह्वात्तै बढेको छ । त्यसमा पनि खाना पकाउने एलपी ग्यासको आयात झन् धेरै बढेको छ ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार पेट्रोलको आयात ९ हजार किलोलिटर बढेको छ । डिजेलको आयातसमेत २५ हजार किलोलिटर बढेको छ । खाना पकाउने एलपी ग्यासको आयात ७६ लाख किलोग्राम बढेको छ । विगतमा इन्धनको आयात घट्नुको कारणबारे विज्ञहरूले जे जे तर्क दिएका थिए, ती तर्कहरू पुष्टि हुने आधार देखिएन । पहिलो कुरा त अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको प्रारम्भमै बिजुलीको उत्पादन करिब ३०० मेगावाट थपिएको छ । दोस्रो कुरा विद्युतीय सवारी साधनको संख्या दोब्बर थपिएको छ । विद्युतीय सवारी साधनको संख्या दोब्बर थपिनु भनेको पेट्रोलियम गाडीको आयात वृद्धि उल्लेख्य रुपमा घट्नु हो ।
गत आर्थिक वर्षको तुलनामा भौतिक पूर्वाधार निर्माणको गतिमा खासै प्रगति भएको छैन । बैंकहरूले कर्जा लगानीसमेत वृद्धि गर्न सकेका छैनन् । उसो भए किन वृद्धि भयो त पेट्रोलियम पदार्थको आयात ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । भारतसँग खुला सिमाना भएका कारण नेपालमा इन्धनको खपतमा घटबढ हुने कारणहरू एकिन गर्न सकिने अवस्था छैन । किनकी यता मूल्य सस्तो हुँदा उता तस्करी हुन्छ । उता मूल्य सस्तो हुँदा यता तस्करी हुन्छ । के कति परिमाणमा तस्करी हुन्छ ? भन्ने मापन गर्न संभव हुँदैन । त्यसैले नेपालमा इन्धनको खपत बढ्दा आर्थिक गतिविधि बढ्यो र इन्धनको खपत घट्दा आर्थिक गतिविधि घट्यो भनेर एकीन गर्न सकिने अवस्था छैन । यो अवस्था जब हुन्छ, तब नेपालमा र भारतीय सीमा क्षेत्रमा पेट्रोलियमको मूल्य एउटै हुन्छ ।
यदि भारततर्फ तस्करीका कारण नेपालमा पेट्रोलियमको आयात बढेको होइन भने सकरात्मक रूपमै लिनुपर्छ । जति मूल्य बराबरको इन्धन खपत बढ्छ त्यसको १० गुणा अन्य आर्थिक गतिविधि बढ्छ । तर, पेट्रोल तथा डिजेलको आयात खासै बढेको छैन । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको आयात ह्वात्तै बढेको छ । यो डरलाग्दो तथ्यांक हो । अत्यन्त्य व्यस्त पृथ्वीराजमार्ग र बुटवल–नारायणगढ सडक खण्ड बिस्तारका नाममा अवरुद्ध भएका कारण हवाई इन्धनको आयात बढेको हो । ५०० रुपैयाँ गाडी भाडा तिरे पुुग्ने ठाउँमा ५ हजार रुपैयाँ जहाजभाडा तिर्नु परेपछि जनता झन् कंगाल बन्छन् । त्यसैगरी एलपी ग्यासमा खाना पकाउनभन्दा बिजुलीमा खाना पकाउन करिब एकतिहाइ सस्तो पर्छ । एकातिर स्वदेशमा बिजुली खपत नभएका कारण निकै सस्तो दरमा भारतलाई बिजुली बेचिएको छ ।
अर्कातिर चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा गत वर्षको तुलनामा थप ७६ लाख किलोग्राम एलपी ग्यास आयात भएको छ । एलपी ग्यास आयातमा भएको यो भारी वृद्धि सरकारको असफलता हो । जुन मूल्यमा भारतलाई बिजुली बिक्री गरिएको छ, त्यही मूल्यमा स्वदेशी उपभोक्ताहरूले पनि बिजुली पाउने हो भने एलपी ग्यासको आयातमा भारी कटौती हुने निश्चित छ । तर, नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई भरपर्दो भने बनाउनै पर्छ । छिनछिनमा बिजुली गइरहने, भोल्टेज घटबढ भइरहने अवस्थाका कारण अहिले पनि सर्वसाधारण जनताको भान्छामा ग्यास सिलिन्डरले नै प्राथमिकता पाइरहेको छ ।
प्रतिक्रिया