धनुषा । धनुषाका कृषि क्षेत्रमा जैविक मलको प्रयोग बढाउँदै लैजान सकिने सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन् । धनुषाका कृषकहरूमा जैविक मल प्रयोगको आकर्षण बढ्दै गएको, जैविक मलको प्रयोग गर्ने किसानको चाहनालाई तिनै तहका सरकारहरूले नीतिगत तहबाट नै सहजीकरण गरिदिने हो भने त्यसले कृषि उत्पादन गर्ने तरिका नै बदिल्न सक्छ, जनकपुरधाममा कृषि बिउवीजन र औषधिको व्यवसाय गर्दै आएका कृषक ट्रेड सेन्टरका हरिकृष्ण महर्जनले बताए ।
रासायनिक मल समयमै उपलब्ध नहुने, यसले माटोको स्वास्थ्य बिगार्दै लैजाने र रासायनिक विषादीको प्रयोगपश्चात अपनाउनुपर्ने विधि नअपनाउँदा मानव स्वास्थ्यमै गम्भीर असर पर्ने लगायतका समस्या उत्पन्न भइरहेको भन्दै उनले भने, ‘यसको विकल्प जैविक मलको प्रयोगलाई बढावा दिनु हो, तर विकल्प हो भनेर मात्र पुग्दैन ।’
उनले कृषकहरूमा जनचेतना बढाउनुका साथसाथै सहज आपूर्ति र प्रतिस्पर्धी मूल्य नहुँदासम्म जैविक मललाई विकल्पभन्दा पनि सानो समूहले पारिवारिक रूपमा मात्र उपयोग गर्ने सम्भावना रहने बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन कुमार मेहता पनि नीतिगत सहजता र सहज उपलब्धताले मात्रै जैविक मल प्रयोगको चाहनालाई व्यवहारमा उतार्न सहज हुने विश्वास व्यक्त गरे ।
जैविक मलको प्रयोग बढाउने सन्दर्भमा सरकारको २ वटा मुख्य चासो रहेको बताउँदै उनले पहिलो कृषकले कसरी कम मूल्यमा मल प्राप्त गर्न सक्छन् त्यसको सुनिश्चितता र दोस्रो प्राप्त गर्ने मलको गुणस्तर कस्तो छ भन्ने यकिन गर्ने दायित्व रहेको बताए । सरकार निजी क्षेत्रसँग मिलेर नै कृषकलाई लाभ दिन चाहेको उल्लेख गर्दै मेहताले नेसनल बायोटेकजस्तो उच्च प्रविधि र गुणस्तरीय जैविक मल उत्पादन गर्ने संस्थाहरूले पनि यस क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।
सन् २०१४ सालमा स्थापना भएको नेसनल बायोटेकले अत्याधुनिक प्रविधिको प्रयोग गरेर साथी ब्रान्डको जैविक मल उत्पादन गर्दै आइरहेको छ । गुणस्तरीय उत्पादनका लागि यो संस्थाले अन्तर्राष्ट्रिय प्रमाणपत्रसमेत प्राप्त गरेको यस संस्थाका म्यानेजिङ डाइरेक्टर नुरविन्द्र विक्रम सिजापतिले बताए ।
प्रतिक्रिया