लक्ष्मिनिया गाउँपालिकाकाे नीति तथा कार्यक्रम अवरुद्ध

जनकपुरधाम । गाउँपालिका अध्यक्षले मनोमानी हिसाबले नीति तथा कार्यक्रमसँगै बजेट ल्याउन लागेको भन्दै लक्ष्मिनिया गाउँपालिकाका वडाध्यक्षहरूले नीति तथा कार्यक्रम अवरुद्ध पारेका छन् ।

असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार लक्ष्मिनिया गाउँपालिकामा बजेट ल्याउने कार्यक्रम तय गरिएको थियो । तर, गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले मनोमानी हिसाबले बजेट ल्याउन लागेको भन्दै वडाध्यक्षका साथै बहुमत कार्यपालिका सदस्यहरूले नीति तथा कार्यक्रमविरुद्ध उभिएका हुन् ।

वडा–७ का वडाध्यक्ष गंगा साहले अध्यक्ष मिश्रले आफूसँग सल्लाहै नगरी बजेट ल्याउन लागेको अरोप लगाए । उनले कार्यपालिकाबाट निर्णय नै नगरी अचानक असार ६ गते योजनाहरू ८ गतेभित्र पेस गर्न भन्दै अध्यक्षले पत्र काटे, साथै वडालाई कति बजेटको सिलिङ गरिएको भन्ने विषयमा जानकारी नगराएकाले आफूहरू बहुमत कार्यपालिका सदस्य नीति तथा कार्यक्रमको विरोधमा उत्रिएको जानकारी दिए ।

यसअघि नीति तथा कार्यक्रम पूर्व १५ दिन अगावै कार्यपालिकाको बैठक बसेर नीति तथा कार्यक्रमको विषयमा निर्णय गरिन्थ्यो । तर, त्यो परिपाटी वर्तमान अध्यक्षले तोडेको वडा–३ का वडाध्यक्षले आरोप लगाए । उनले आफूहरूलाई समय नै नदिई योजना पेस गर्न भनिएपछि नीति तथा कार्यक्रम र बजेट ल्याउन दिने वातावरण बिग्रिएको बताए ।

तर, अध्यक्ष मिश्रले वडाध्यक्षहरू कामै नभएका योजनाहरूको भुक्तानीका लागि दबाब दिँदै आएको र आफूले सो नगरेपछि नीति तथा कार्यक्रम अवरुद्ध पारेको आरोप लगाएका छन् । मिश्रले वडाहरूमा गैरकानुनी रूपमा भर्ना गरिएका कर्मचारीहरूको तलबसमेत निकासा गर्न दबाब दिइरहेको बताए । अध्यक्ष मिश्र कांग्रेसबाट निर्वाचित भएका थिए भने कार्यपालिकामा अल्पमतमा रहेका छन् ।
यसैबीच, पहिला तय गरिएको स्थानमा परिषद् बैठकमा अवरोध सिर्जना भएपछि गाउँपालिका अध्यक्ष मिश्रले गाउँपालिकाको सभाहलमा बैठक सुरु गरेका थिए । यता बैठक सुरु भएको थाहा पाएपछि वडा अध्यक्षहरूले त्यहाँ पुगरे पनि विरोध जनाएका थिए । गाउँपालिकाको मुख्य ढोकामा ताला लगाएर परिषद् बैठक गरेको भन्दै वडा अध्यक्षहरूले विरोध जनाएका थिए ।

प्रतिक्रिया