प्रचण्डको प्रतिवद्धता

सरकारले भैहरवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि थप सहुलियत दिने गृहकार्य अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे शुक्रबार उच्चस्तरीय छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यी विमानस्थल पूर्ण क्षमतामा संचालनका लागि हवाइ टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाइ इन्धनमा केही सहुलियत दिन प्रस्ताव समेत गरेका छन् । मेडिकल परीक्षण, श्रम स्वीकृति, अध्यागमन लगायत सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् । यसैगरी उनले होटल लगायतमा सहुलियत प्याकेज दिन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने – ’पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन् । यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी भएको छ, निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिकको समस्या छ । काठमाडौं एयरपोर्टको सुधार र क्षमता विस्तारको काम भइरहेको छ । यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन ।’ सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक कूटनीतिक पहल पनि सघन ढंगले अघि बढाउने प्रधानमन्त्री प्रचण्डले बताए ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल करिव १४ अर्ब रुपैंया लागतमा तीन वर्ष अघि निर्माण सम्पन्न भएको हो । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल करिव २९ अर्ब रुपैंया लागतमा दुई वर्ष अघि निर्माण सम्पन्न भएको हो । तर यी दुवै विमानस्थल व्यवसायिक रुपमा संचलनमा आउन नसक्दा राज्यको लगानी माथि प्रश्न उठिरहेको छ । यी विमानस्थलहरु व्यवसायिक रुपमा संचालनमा आउन किन सकेनन् ? भन्ने सन्दर्भमा विभिन्न टिका टिप्पणीहरु छरपष्ट भइसकेका छन् ।

भैरहवा विमानस्थल संचलनमा आउन नसक्नुको एउटा कारण सरकारको उदासिनता पनि हो भन्ने कुरा प्रष्ट छ । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि भैरहवाबाट मेडिकल परीक्षण, श्रम स्वीकृति, अध्यागमन लगायत सरकारी सेवा भरपर्दो रुपमा पुग्न सकेको छैन । जुन कुरा प्रधानमन्त्री प्रचण्ड स्वयंले स्वीकार गरिसक्नु भएको छ । बैदेसिक रोजगारीमा जाने आउनेहरुले मात्रै प्रयोग गर्ने हो भने पनि भैरहवा विमानस्थल कुल क्षमताको ३० प्रतिशत चल्न सक्छ । अहिले जस्तो घाटामा जाँदैन । काठमाडौंमा हवाई ट्राफिक घट्छ । विदेशी पर्यटकको आवागमन बढाउन सहज हुन्छ । पोखरा क्षेत्रिय बिमानस्थलका सन्दर्भमा भारत सँग कुटनीतिक पहल नपुगेकै हो ।

ऋण लिएर पूर्वाधार निर्माण गर्ने, तर ती पूर्वाधारहरु संचालनमा आउन नसक्ने हो भने देश आर्थिक रुपमा तहस नहस हुन धेरै वर्ष पर्खनै पर्दैन । त्यसैले यी दुई विमान स्थल निर्माण थालनी गर्नु अघि नै व्यवसायिक रुपमा संचालन हुने कुराको सुनिश्चित गर्नुपथ्र्यो भन्ने कुरा उठ्ने गरेका छन् । यस्ता कुरा उठ्नु स्वभाविक हो । एक वर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्विनी भ्रमणमा आउँदा भैरहवा विमानस्थल प्रयोग गरेनन्, छुट्टै हेलिप्याड निर्माण गर्नु पर्यो ।

यता भारतीय पर्यटकहरुको ओहिरो लाग्ने शहर हो पोखरा । पोखरा आउने कुल पर्यटकमध्ये भारतीय पर्यटकहरुको हिस्सा ४० प्रतिशत छ । तर भारतका विभिन्न शहरलाई लक्षित गरेर बनाइएको पोखरा विमान स्थलका विषयमा भारतीय मिडियाहरुले ज्यादै घृणाजन्य अफवाह फैलाई रहेको अवस्था छ । अर्कातिर ऋणदाता चीनले पोखरा बिमान स्थललाई बिआरआई अन्तरगतको परियोजना भनिरहेको छ । खराव मौसमका बेला भारतको आकाश प्रयोग गर्नु पर्ने गरी भैरहवा विमान स्थल निर्माण गरिनु आँफैमा त्रुटीपूर्ण थियो ।

दुई किलोमिटर मात्रै उत्तरतर्फ बनाईएको भए यो वाध्यता हुँदैनथ्यो । जे नहुनु थियो, त्यो भइसक्यो , अब भारत सँग कुटनीतिक पहल गर्नुपर्छ । पोखरा विमानस्थलका सन्दर्भमा जे जति अफवाह फैलाइएको छ, त्यो सबै सत्य होइन । सबैभन्दा गुणस्तरीय धावन मार्ग निर्माण गरिएका कारण लागत महंगो भएको हो ।

भूकम्प गइरहने हाम्रो जस्तो कमजोर भूबनौट भएको देशमा कम्तिमा एउटा बलियो विमानस्थल बनाउने सोच नराम्रो होइन । चीन सँग लिइएको ऋणको मामिला कुटनीतिक माध्यमबाट टुंग्याउनु पर्छ । २२ अर्ब रुपैंया ऋण ठूलो कुरा होइन, भाका अगावै तिरिदिए हुन्छ । पोखरा विमानस्थल मार्फत व्यवसायिक उडान हुन सक्ने भनेको भारतीय शहरहरुमा मात्रै हो भन्ने यथार्थता मनन गर्नै पर्छ ।

प्रतिक्रिया