२१ जोडीले गरे दाइजोमुक्त सामुहिक विवाह

जनकपुरधाम । धनुषाको महेन्द्रनगरस्थित सतलोक आश्रममा २१ जोडिले दाइजो तथा आडम्बरमुक्त विवाह गरेका छन् । तराइ मधेसमा बडेदो दाइजो तथा तीलकहित हुने विवाहलाई चुनौती दिँदै उनीहरुले यस्तो विवाह गरेका हुन्
कबीर परमेश्वरको ६२७ औं प्रकट दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीद्वारा असार ६ देखि ८ गतेसम्म आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम असार ६ गते बिहिबार पाठ प्रकाश गरी प्रारम्भ भएको थियो भने दोस्रो दिन शुक्रबार विभिन्न किसिमका समाज सुधारका कार्यक्रमहरु गरि मनाइएको छ ।

सन्त रामपाल महाराजको पावन सान्निध्यमा आदरणीय सन्त गरिबदास महाराजद्वारा रचित अमरग्रन्थ साहेबको पाठ जारी राख्दै २१ नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ । सामुहिक विवाहमा कुनै प्रकारको सरसामान नगद लेनदेन नगरि विवाह सम्पन्न गरेका हुन् ।

विवाहमा सर्व आगन्तुकलाई खाने बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भन्डारामा गरिएको थियो । १७ मिनेटको गुरुवाणीद्वारा तेत्तीस करोड देवीदेवताको स्तुति गरी तीनै देवीदेवतालाई साक्षी राखि उक्त विवाह सम्पन्न भएको थियो ।
यस्ता विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ । समाजबाट दाइजोका नामा हुने अवैध लेनदेन र त्यसले पार्ने असरलाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको जानकारी आयोजकले जनाएका छन् ।

यस प्रकारका विवाहले समाजमा प्रत्यक्ष प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका थिए । कार्यक्रममा हजारौंको संख्यामा अनुयायीले नेपाल रेडक्रसलाई रक्तदान पनि गरेका थिए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार यादव, मधेस प्रदेश सभामुख रामचन्द्र मण्डल र सुरक्षा निकायका उच्च अधिकारी लगायत विभिन्न नपाका मेयर तथा वडा अध्यक्ष, विभिन्न निकायका प्रमुख कर्मचारीको उपस्थित थियो ।
कार्यक्रममा कबिर साहेबको प्रकट हुनेदेखि लिएर पुरै जिवनलीला चित्रण गर्ने आध्यात्मिक प्रदर्शनि गरिएको थियो । आश्रमको सर्व व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनलाई देखेर सबैले हृदय देखिनै कार्यक्रम तथा आयोजकका साथै सन्त रामपालजी महाराजको प्रशंसा गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्रीले कार्यक्रम, व्यवस्थापन र त्यहाको अनुशासनको राज्यले नै अनुशरण गर्नुपर्ने किसिमको नमुना रहेको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया