वासिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार अमेरिकाले भारत र पाकिस्तानबीच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताएका छन् । उनले छलफलको गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताए ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको र दुवै प्रधानमन्त्रीमा शान्ति प्रक्रिया सुरु गर्ने क्षमता रहेको विश्वास गर्ने अमेरिकी विशेषज्ञको प्रतिक्रियाबारे सोधिएको प्रश्नमा मिलरले भने, ‘हामी भारत र पाकिस्तान दुबैसँगको सम्बन्धलाई महत्त्व दिन्छौँ र भारत–पाकिस्तानबीचको प्रत्यक्ष छलफललाई समर्थन गर्छौँ, तर गति, दायरा र चरित्र ती दुई देशहरूले निर्धारण गर्नुपर्छ, हामीले होइन ।’
जुन १० मा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले प्रधानमन्त्री मोदीलाई भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिएका थिए ।
‘तेस्रो पटक पदभार ग्रहण गरेकोमा मोदीजीलाई मेरो हार्दिक बधाई, हामी घृणालाई आशाले प्रतिस्थापन गरौँ र दक्षिण एसियाका दुई अर्ब मानिसको भाग्य निर्धारण गर्ने अवसरको उपयोग गरौँ,’ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले सामाजिक सञ्जाल एक्समामार्फत शुभकामना दिएका थिए ।
नवाज सरिफको बधाई सन्देशको जवाफमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको सन्देशको प्रशंसा गर्दै भारतका जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशील क्षेत्रका लागि उभिएको उल्लेख गरेका थिए ।–रासस, एएनआई
प्रतिक्रिया