मधेस ब्युरो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक भारतीय नागरिक फरार भएपछि दुई सरकारी निकायबीच दोषारोपण सुरु भएको छ । सशस्त्र प्रहरीले समातेर ल्याएको हुन्डी कारोबारीलाई भन्सार कार्यालयमा बुझाएको र भन्सारले नबुझेको भन्दै एक अर्को कार्यालयबीच दोषारोपणको शृंखला सुरु भएको हो ।
रौतहटको बौधीमाई नगरपालिका– ७ बाट सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पसले भारतीय नम्बर प्लेट बिआर ०५ बिबि ६२१२ को मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा १४ लाख ८० हजार रुपैयाँ मोटरसाइकलको सिटमुनि फेला परेको थियो ।
मोटरसाइकल चालक भारत बिहारको पूर्वी चम्पारण जिल्लाको झरोखर ७ जमुनियाका ३१ वर्षीय गजेन्द्र रायलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर गौर चलान गरेको थियो । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयमा बिहीबार बिहीबार दिउँसो सशस्त्र प्रहरीले हुन्डी कारोबारमा पक्राउ परेका भारतीय नागरिक गजेन्द्र रायलाई बुझाएको कागजपत्र बनाइसकेको थियो ।
सोही अवस्थामा शौचालय गएका भारतीय नागरिक राय कार्यालयको बाउन्ड्रीवाल हाम फालेर फरार भएको बताइएको छ । सशस्त्र प्रहरी बलले भनेको छ, ‘नगर र मोटरसाइकलसहित हुन्ड कारोबारी गजेन्द्र रायलाई मुद्दा नम्बर ७७१ मा दर्ता गरी भन्सार कार्यालयलाई जिम्मा लगाइसकेका छौँ ।’
गौर भन्सार कार्यालयले भने कारोबारी फरार हुनमा आफ्नो दोष नभएको जनाएको छ । सशस्त्र प्रहरीकै नियन्त्रणबाट कारोबारी फरार भएको दोषारोपण भन्सार कार्यालयको रहेको छ ।
गौर भन्सार कार्यालयका प्रमुख अमरेन्द्र सिंह भन्छन्, ‘अर्थमन्त्रीज्यूको भर्चुअल मिटिङमा व्यस्त रहेको समयमा एक्कासि मानिस फरार भएको कुरा सुनेको हुँ, त्यस बेलासम्म भन्सारको नियन्त्रणमा आइसकेका थिएनन् ।’
कारोबारीलाई समातेर ल्याएको अवस्थामा दुई सरकारी निकायका कर्मचारीको लापरबाहीको कारण पक्राउ परेका अभियुक्त फरार भएपछि जिल्लामा धेरै आलोचना भइरहेको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया