चीन र फिलिपिन्सका सेनाबीच झडप

मनिला । चीन र फिलिपिन्सका सैनिकबीच समुद्रमा भएको झडपसम्बन्धी एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चीन र फिलिपिन्सका सैनिकबीच विवादित दक्षिण चीन सागरमा यो भिडन्त भएको हो ।
यसक्रममा चिनियाँ सैनिकहरू फिलिपिन्स सेनासँग हतियारसहित झडपमा उत्रिएको बताइएको छ । यो झडपमा फिलिपिन्सका सेनातर्फ ठूलो क्षति भएको समाचार आएको छ ।

फिलिपिन्सका जनरल रोमियो ब्राउनरका अनुसार चीनका सैनिक तरबार, भाला र चक्कुसहित आएका थिए । चीनका सैनिकसँग फिलिपिन्सका सैनिकले केबल हातले मुकाबिला गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जनरलले चिनियाँ जहाजले फिलिपिन्सका डुंगामा ठक्कर दिएपछि त्यसमा रहेका हतियार पनि लगेको आरोप लगाएका छन् । ती जनरलका अनुसार चिनियाँ सैनिकको आक्रमणमा फिलिपिनो सैनिकको औँला नै काटिएको छ ।
उता चीनले यस घटनामा आफ्ना सैनिकलाई दोषी ठहराउन अस्वीकार गरेको छ ।

यी दुई देशले दक्षिण चीन सागरका विवादित टापुमा आफ्नो दाबी गर्दै आएका छन् । झडपको कारण पनि यिनै विवादित टापु भएका हुन् ।
फिलिपिन्सका नौसेना थोमस शोलमा तैनाथ सैनिकलाई आवश्यक सामग्री आपूर्ति गर्न गइरहेका थिए । त्यहीक्रममा चीनका सैनिकले आक्रमण गरेको दाबी उनीहरूको छ ।

चिनियाँ सैनिकले यहाँ पूरा तयारीसहित फिलिपिन्सको डुंगामा हमला गरेको आरोप लागेको छ । चिनियाँ सैनिकले फिलिपिन्सको सैनिकका हतियार जफत गर्नुका साथै डुंगा पनि नष्ट गरिदिएका छन् ।

यस घटनाका केही भिडियो अहिले भाइरल भइरहेका छन् । भिडियोमा चिनियाँ सेनाले फिलिपिनो सेनाको डुंगामा पञ्चर गरिरहेको देख्न सकिन्छ । फिलिपिनो जनरलले यस घटनालाई चोरीको संज्ञा दिएका छन् । उनले चीनलाई आफूहरूको क्षेत्रमा चलिरहेको अपरेसन असफल बनाउने र विशेष आर्थिक क्षेत्रमा रहेको जहाज नष्ट गर्ने कुनै अधिकार नरहेको बताएका छन् ।

फिलिपिन्सका सेना प्रमुखले जफत गरिएका राइफल र अन्य सैन्य उपकरण फिर्ता गर्न माग गरेका छन् । उनले हमलका क्रममा भएको क्षतिको भर्पाई गर्न पनि चीनलाई चेतावनी दिएका छन् ।

ती जनरलले सैनिकहरूले चिनियाँ तट रक्षकहरूलाई चक्कु, भाला र तरबारसहित देखेको पनि जनाएका छन् । भिडियोमा चिनियाँ सैनिकहरूले फिलिपिनो सेनातिर चक्कु तेर्साइरहेको देख्न सकिन्छ । त्यसक्रममा चिनियाँ सेनाले फिलिपिनो सेनाबाट कैयौँ बन्दुक जफत गर्नुका साथै डुंगामा लगाइएको मोटर पनि नष्ट गरिदिएका थिए ।

फिलिपिन्सका सैन्य प्रमुखले चीनले आफूहरूका युद्ध सामग्री फिर्ता दिन र हमलाको क्षतिको भरपाई गर्न भनेका छन् । फिलिपिन्सले यो हमलाको तुलना दक्षिण चीन सागरमा समुद्री लुटको घटनासँग तुलना गरेका छन् ।

फिलिपिन्सका अधिकारीहरूका अनुसार सोमबार ८ भन्दा धेरै मोटरबोटमा सवार चिनियाँ तटरक्षककर्मीले फिलिपिन्सको नौसेनाको २ डुंगामा पटकपटक ठक्कर दिने काम गरेका थिए । त्यसपछि चिनियाँ सेना ती डुंगामा छिरेका थिए ।
चीनले भने यस प्रकरणमा फिलिपिन्सलाई दोषी ठह¥याएको छ । फिलिपिन्सका सेनाले आफूहरूको चेतावनीको बेवास्ता गर्दै समुद्रमा आफ्नो जल क्षेत्रको अतिक्रमण गरेपछि कारबाही चलाउनुपरेको चीनले जवाफ दिएको छ ।

प्रतिक्रिया