२५ अर्ब खर्च भइसक्दा पनि वाग्मतीको कन्तविजोग

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसेले वाग्मती नदी कहिले दुर्गन्ध मुक्त हुन्छ ? भन्ने प्रश्न उठाए । सांसद चालिसेले ३१ वर्ष अघिदेखि सुरू भएको वाग्मती सफाइ अभियानमा राज्यको ढुकुटीबाट अहिलेसम्म अर्बौं रुपैयाँ खर्च भइसकेको बताए । उनले भने, ‘आजसम्म २१ अर्ब खर्च भइसक्दा पनि दुर्गन्धित वाग्मती देख्न परिरहेको छ । यसको किनारमा रहेका ठूला ठूला मठमन्दिरहरू दुर्गन्धित भएका छन् । कसैले पनि वाग्मतीको जल प्रयोग गर्दैनन् । हात चोपल्न पनि गाह्रो मान्छन् ।’

वाग्मती नदीको दुर्दशाका सन्दर्भमा सांसद चालिसेले उठाएको कुरा शतप्रतिशत सत्य हो । तर, वाग्मती सफाइका नाममा भएको खर्च भने सांसद चालिसेले उल्लेख गरेको भन्दा निकै ठूलो छ । विगत ३१ वर्ष यता सरकारी ढुकुटीबाट मात्रै २५ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको देखिन्छ । यस वर्ष ल्याइएको बजेटमा वाग्मती सफाइका लागि २ अर्ब ७५ करोड बजेट छुट्ट्याएको छ । गत वर्ष २ अर्ब ५२ करोड रुपैयाँ छुट्याइएको थियो । यस्ता बजेट विगत ३१ वर्षदेखि हरेक वर्ष नियमित छुट्याइँदै आएको छ । त्यही बजेटबाट १३० जना कर्मचारी पालिएको छ । जनस्तरबाट पनि नेपाल सरकारका पूर्वमूख्यसचिव लीलामणि पौडेलको अगुवाइमा हरेक साता शनिबारको दिन वाग्मती सफाइ अभियान सञ्चालन हुँदै आएको छ । यो अभियानले ५०० साता पार गरिसकेको छ । यो अभियानमा अहिलेसम्म १० लाखले श्रमदान गरेका छन् ।

विगतमा पिउनयोग्य कञ्चन पानी बग्ने वाग्मती नदीमा पानीको सट्टा किन ढल बगिरहेको छ ? भन्ने प्रश्नको उत्तर सबैलाई थाहा छ । जबसम्म वाग्मतीमा ढलको सट्टा पानी बगाइँदैन तबसम्म वाग्मती सफाइका लागि गरिने खर्च फजुल हो भन्ने कुरा सरोकारवाला सबैले बुझेका छन् । त्यसमा पनि सरकारमा रहनेहरूलाई यो कुरा स्पष्ट थाहा छ । तर, बुझ पचाउँदै हरेक वर्ष अर्बौं रुपैयाँ बजेट खर्च गर्ने गरिएको छ । राष्ट्रिय गौरवका आयोजनामा जति बजेट छुट्याउने गरिएको छ, वाग्मती सफाइका नाममा पनि त्यति नै बजेट छुट्याउने गरिएको छ, तर उपलव्धी छैन । सबै ठाउँमा संभव नभए पनि कम्तिमा हिन्दूहरूको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल पशुपति क्षेत्रको वाग्मतीमा हात चोपल्न सक्ने अवस्था भइदिएहुन्थ्यो भन्ने धेरैको कामना छ ।

बुझ पचाउनु जरुरी छैन । काठमाडौँ उपत्यकाको करिब ५० लाख जनसंख्याले त्याग गर्ने मलमूत्र अन्त कहीँ जाँदैन, सर्लक्कै वाग्मतीमा गएर मिसिन्छ भन्ने कुरा स्पष्ट छ । मलमूत्रको उचित व्यवस्थापन नगरेसम्म वाग्मती नदी सफा हुन्छ भन्नु कोरा नारा मात्रै हो । प्रत्येक घरको ढल सरकारले नै वाग्मतीमा मिसाएको छ । वाग्मती नदीको दुवै किनारमा ढल निर्माणको काम अघि बढाइएको सरकारले जनाएको छ । यो काम सम्पन्न भएपछि वाग्मती नदी सफा हुने सरकारी दाबी छ । तर, यो दाबीमा कुनै सत्यता छैन । किनकी वाग्मतीका सहायक खोला तथा खोल्सालाई ढलमुक्त गर्ने प्रयास अहिलेसम्म भएकै छैन ।

विष्णुमति, हनुमन्ते, मनोहरालगायत दर्जनौँ खोलाहरू ढल बोकेरै वाग्मतीमा मिसिने गरेका छन् । यी सबै खोला, खोल्सालाई ढलमुक्त गर्न सानो बजेट र सानो प्रयासले संभव हुनेवाला छैन । दीर्घकालीन योजनाका साथ अघि बढ्नु जरुरी छ । तर, पशुपति क्षेत्रसम्म भने खासै धेरै खोलाहरू मिसिएका छैनन् । इच्छा शक्ति हुने हो भने पशुपति क्षेत्रसम्म ढलको सट्टा पानी बगाउन मज्जाले सकिन्छ । अहिलेसम्म राज्यको ढुकुटीबाट खर्च भएको २५ अर्ब रुपैयाँ सदुपयोग हुन सकेको भए पशुपति क्षेत्रमा नुहाउन सकिने अवस्था बन्थ्यो ।

प्रतिक्रिया