आठबिसकोटमा डेरी उद्योग सञ्चालन

रुकुमपश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ मा रहेको आठबिसकोट दुग्ध सहकारी संस्थाद्वारा सञ्चालित दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ । प्राविधिक कारणले रोकिएको उक्त डेरी उद्योग लामो समयपछि सञ्चालनमा आएको हो ।

२०७७ सालमा स्थापना भएको डेरी गत जेठ ६ गतेदेखि नियमित रूपमा सञ्चालनमा आएको हो । करिव ५ हजार लिटर दूध प्रशोधन गरेर वितरण गर्ने योजनासहित डेरी सञ्चालनमा ल्याइएको डेरी उद्योग सञ्चालक समितिका सचिव गोविन्द खडकाले जानकारी दिए । उनका अनुसार अहिले जाजरकोटको डाँडागाउँ र रुकुमपश्चिमका केही ठाउँबाट दैनिक रूपमा दूध संकलन भइरहेको खड्काले बताए ।

नेपाल सरकारको मापदण्डभित्र रहेर दूध संकलन, प्रशोधन तथा बिक्री वितरण गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगमा अत्याधुनिक प्रविधिका मेसिनहरूबाट दूध प्रशोधन गरिने भएको छ । अहिले जाजरकोटबाट दैनिक १२० लिटर दूध डेरीमा आउने गरेको बताइएको छ ।

१ असारदेखि रुकुमका सबै ठाउँबाट दूध संकलन गरिने डेरी उद्योगले जनाएको छ । उद्योगबाट ठूलो मात्रामा दूध खरिद गर्ने भएकाले दूग्ध उत्पादक कृषकलाई पनि सहज भएको छ । अब कृषकले उत्पादन गरेको दूध उद्योगले खरिद गर्ने आठबिसकोट दुग्ध सहकारी सस्थाका अध्यक्ष जनक बटालाले जानकारी दिए ।
जिल्लामा दूध उत्पादन कम भएकाले अन्तर जिल्लाबाट खरिद गर्नुपर्छ । अहिले उद्योगमा आएको दूध सञ्चालक समितिले नै खरिद बिक्री गर्दै आएको बटालाले जानकारी दिए । उनी भन्छन्, ‘केही प्राविधिक कारणले समयमै सञ्चालन गर्न सकिएन तर अब नियमित रूपमा सञ्चालन हुन्छ । अहिले दूध र दहीको माग बजारमा तीव्र बढेको र चौरजहारी, रिम्ना, चिसापानी र राडीबजारमा दूध, दही नियात भइरहेको छ ।’

आठबिसकोटमा नियमित विद्युत् नहुँदा डेरी सञ्चालनमा भने चुनौती नै देखिन्छ । दिनहुँ लोडसेडिङ हुँदा थप समस्या थपिएको छ । जिल्ला पशुसेवा कार्यालय रुकुम पश्चिमको ७० प्रतिशत ९२ लाख अनुदान र सञ्चालक समितिको भौतिक संरचनासहित ३० प्रतिशत २७ लाख ६० हजार रुपैयाँ गरेर १ करोड १९ लाख रुपैयाँ लगानीमा ६६ सदस्यीय सेयर सदस्य र ११ जना कार्यसमितीमा रहेर २०७७ सालमा उद्योग स्थापना भएको थियो ।

आचार्य डेरी उद्योग चौरजहारीको प्राविधिक सहयोगमा अहिले डेरी सञ्चालनमा आएको छ । किसानको घरदेखि ल्याइएको दूध प्रतिलिटर ९० रुपैयाँ र दहीको प्रतिलिटर १०० रुपैयाँमा बिक्री भइरहेको उद्योगले जनाएको छ । दूध डेरी सञ्चालनमा आएपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । डेरीबाट उत्पादित दूध, दहीको माग बढेपछि गाउँगाउँमा गएर दूध संकलन गर्दै आएको छ । बिस्तारै सेवा बिस्तार गरेर दूधबाट बन्ने सबै परिकार उपलब्ध गराउने बताइन्छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया